काठमाडौँ, भदौ १४ गते । केही दिनयताको लगातार वर्षासँगै आएको बाढीपहिरोले १४ वटा सडक अवरुद्ध भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले अवरुद्ध भएका १४ ठाउँमा सञ्चालनका लागि तीव्र रूपमा प्रयास भइरहेको जानकारी दिनुभयो ।
महानिर्देशक थापाले के कति कारणले अवरुद्ध भएको हो, सोको आधारमा सडक सञ्चालनमा ल्याउने समय लाग्ने गरेको जानकारी दिनुभयो । सामान्य पहिरो गई अवरुद्ध भएका सडक छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको छ । सडक विभागले मुलुकभरका लोडर, एस्काभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विपमेन्टमार्फत राजमार्ग र सडकको अवरोध हटाउने काम गरिरहेको महानिर्देशक थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका अतिरिक्त इटहरी, जनकपुर, हेटौँडा, काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज र गोदावरीको हेभी इक्विपमेन्ट डिभिजनहरूमा तयारी अवस्थामा राखिएका छन् ।”
तयारी अवस्थामा राखिएका इक्विपमेन्ट अपुग भएमा सम्बन्धित डिभिजनबाट पठाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो । विगतभन्दा बढी वर्षा हुने अनुमान गरिएकाले यो वर्ष विशेष तयारी गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे–काठमाडौँ खण्डको गल्छीमा, सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्डको डुम्रेमा, भिट्टामोड–जलेश्वर–बर्दिबास, खुर्कोट–मन्थली–तामाकोसी–सिँगटी–लामाबगर–लाप्चेगाउँ सडकखण्डको टिल्पुङमा सडक अवरुद्ध भएको हो ।
त्यसैगरी अरनिको राजमार्गअन्तर्गत काठमाडौँं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्डको डकलाङमा, सिन्धुपाल्चोकको लिपिङमा पहिरोका कारण सडक अवरुद्ध छन् । महानिर्देशक थापाका अनुसार सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको बडकी भन्ने ठाउँमा, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत नुवाकोटको मैथली खोलामा सडक अवरुद्ध भएको हो ।
सोही राजमार्गको रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला र सानो गाँजाबारी भन्ने ठाउँमा, डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत अर्खले र रामबजार, मनाङको बगरछाप, धारापानी र तिमाङ खोला, तिमाङ छहरा भन्ने ठाउँमा सडक अवरुद्ध रहेको उहाँले जानकारी दिनुभयो ।