पोखरा, भदौ १६ गते। रेष्टूरेण्टमा वेटरको काम लगाइदिन्छु भन्दै यौन शोषण गर्न लगाउने महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा ६, शान्तिनगरस्थित ए वन रेष्टूरेण्टकी सञ्चालिका २८ वर्षिया अस्मिता राईलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
इलाम माई नगरापालिका घर भई शान्तिनगरमा रेष्टूरेण्ट सञ्चालन गर्दै आइरहेकी राईले रेष्टूरेण्टमा खाजा नास्ता बनाउने र वेटरको काममा लगाइदिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरुलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको प्रहरीले जनाएको छ ।
सोमबार पक्राउ परेकी राईलाई कास्की जिल्ला अदालतबाट ३ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । पीडित महिलाहरुलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको डिएसपी हमालले बताए ।।