पोखरा, भदौ १७ गते । अविरल वर्षाका कारण पोखरा महानगरपालिकाको नदिपुरमा तीन पक्की घर भासिएका छन् । बुधबार साँझ आएको भिषण वर्षाले पोखरा महानगर वडा नम्वर ३ नदिपुरमा पक्कि घर भासिएका हुन् ।
बुधबार राती मध्यरातमा पानीले घर भासिएको वडा अध्यक्ष रविन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो । छविलाल पुन, बलबहादुर पुन र देउबहादुर पुनको घर भासिएको हो ।
राती ११ बजे घर भासिएको थियो भने मानविय क्षती नभएको वडा अध्यक्ष प्रजुले बताउनुभयो । घरको अगाडीको भाग जमिनमुनि दबेको छ । भासिएका घरका सामग्रीहरु निकालेर छिमेकीको घरमा राखिएको छ ।
यसैवीच पोखराका विभिन्न ठाँउमा गएको बाढि र पहिरोको क्षती बारे पोखरामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत जानकारी लिनुभएको छ ।
विहिबार बिहानै उपप्रमुख गुरुङ भलामको र्यालेचौर, पोखरा ११ फुलबारी र पोखरा ३ नदिपुरमा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिनुभएको हो । बाढि र पहिरोबाट क्षती पुगेका परिवारलाई महानगरले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।