पोखरा । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत आजदेखि गाउँनगर वडा अधिवेशन सुरु भएको छ । यसअघि क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा भदौ १८ देखि वडा अधिवेशन सुरु हुन लागेको हो ।गण्डकीका कास्कीसहित अन्य १० जिल्लामा आज वडा अधिवेशन हुँदै छ । कास्कीमा आरसी विमल (रामचन्द्र) पौडेललाई निर्वाचन अधिकृतरुपमा खटाइएको छ । उनका अनुसार जिल्लाका ७२ वटै वडामा मतदान अधिकृत र निर्वाचन सामग्री पठाइसकिएको छ ।
कास्कीबाट शुक्रबार २ हजार १९ जना क्षेत्रीय प्रतिनिधि र ७२ वडाको कार्यसमिति चयन हुनेछ । पोखरा महानगरपालिकाबाट मात्रै १ हजार ४ सय प्रतिनिधि निर्वाचित हुने छन । अधिकांश ठाउँमा सर्वसम्मत चयन गर्र्ने तयारी छ । गण्डकी प्रदेशभर ८५ पालिकामा ७ सय ५९ वडा छन् । यहाँ १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र लमजुङमा एउटा मात्रै निर्वाचन क्षेत्र छन भने कास्कीमा ३ तथा अन्य ५ जिल््लामा २ निर्वाचन क्षेत्र तोकिएको छ । सबैभन्दा धेरै स्याङ्जामा ९७ वडा छन भने सबैभन्दा कम मुस्ताङमा २५ मात्र छन ।
शुक्रबार बागलुङका ८५ वडामा भने निर्वाचन हुने छैन । निर्वाचन क्षेत्र, पालिका र जिल्लाको नेतृत्व गर्नेहरुले अहिलेदेखि नै तयारी गरिरहेका छन् । सकेसम्म आफू निकटका क्षेत्रीय प्रतिनिधि ल्याउन उनीहरु कस्सिएका छन ।वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट सभापतिसहित २ उपसभापति, २ सचिव, २ सहसचिव गरी ७ जना पदाधिकारी निर्वाचित गर्ने छ । त्यसपछि मतदाता संख्याको आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । टोल, वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी ८ तहमा पार्टी संरचना छ । वडापछि भदौ २७ मा पालिका अधिवेशन, असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन, एउटा मात्रै प्रतिनिधिसभा भएको क्षेत्रमा असोज ६ मा जिल्ला अधिवेशन र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० मा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
यस्तै, कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशनको चुनावी तालिका छ । संघीय संरचनामा देश गइसके पनि कांग्रेसको प्रदेश कमिटी अहिलेसम्म बनेको छैन्। नयाँ विधानका आधारमा यो नै पहिलो महाधिवेशन हो ।साढे ५ वर्षपछि हुन लागेको कांग्रेसको आसन्न महाधिवेशनलाई पार्टीका नेताकार्यकताले उत्सवका रूपमा लिएका छन् र अधिवेशनका लागि यतिखेर नेताकार्यकर्ता गाउँगाउँमा पुगेर प्रचार अभियानमा छन् । मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा भई देउवा सभापतिमा निर्वाचित भएका थिए ।
साभार आर्दशसमाज दैनिकबाट