पोखरा, भदौ १९ गते ।गण्डकी प्रदेशमा बाढीपहिरोमा दुई दिनमा १८ जनाको मृत्यु भएको छ । जसमध्ये ११ जना पर्वतका छन । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन । यता कास्कीमा बाढि र पहिरोमा परि सात जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका भलाममा बिहिबार गएको पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको थियो भने शुक्रबार लेखनाथमा खुदी खोला तर्ने क्रमममा बगाएर एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परी निधन भएकाहरुकोमा विपद व्यवस्थापन समितिले दु्ख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेको छ । मृतकका आफन्तप्रति समवेदना व्यक्त गर्दै बेपत्ताहरुको खोजी जारी राख्ने निर्णय बैठकले गरेको प्रमुख सचिव डा. दामोदर रेग्मीले बताए । उनले घाइतेहहरुको उपचार भइरहेको, बाटो नभएर खाद्यान्न नपुगेका स्थानमा हेलिकोप्टरबाटै भए पनि खाद्यान्न लैजाने काम भइरहेको जानकारी गराएको छ ।
प्रदेश सरकारले विपदमा निधन भएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ, बेपत्ताका परिवारलाई पनि १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ । यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले बेहोर्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत विपतरणको काम हुने र त्यसका लागि रकम समेत गइसकेको छ ।