यातायात व्यवस्था विभागले असोज १२ गतेबाट लाइसेन्सका लागि नयाँ आवेदन खुला गर्ने भएको छ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्सको ट्रायल परीक्षा सुचारु भएको छ । असोज १२ गतेपछि अनलाइनबाट आवेदन दिन सकिने छ ।
सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) लिन बाँकी रहेकाले दशैँपछि मात्र पाउने भएका छन् ।प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैँअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले भन्नुभयो, “प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, आज डेलिभरी अडरको पत्र दिँदै छौँ, दशैँअघि प्रिन्ट गर्न गाह्रो छ, दशैँपछि यसको स्पिड बढाउनु पर्छ ।”
हाल विभागमा सात लाखप्रति लाइसेन्स प्रिन्ट गर्न बाँकी छन् । नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीले राजस्व बुझाइसकेपछि सेवा पाउन सकेका छैनन् ।
अनिवार्य गरिँदै इम्बोस्ड नम्बर
सवारी साधनको विवरण डिजिटल प्रणालीमा राख्न लागू गरिएको इम्बोस्ट नम्बर प्लेट अनिवार्य गरिँदै छ । २०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम छ । विभागले असोजदेखि बागमतीका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउदा इम्बोस्ट नम्बर प्लेट अनिवार्य गर्ने जनाएको छ ।
विभागका प्राविधिक निर्देशक रामशरण पौडेल भन्नुहुन्छ, “२०७७ साउनदेखि सुचारु गरिको हो, कोरोना महामारीका कारण अनिवार्य गरिएको छैन, अनिवार्य नगर्दासम्म प्रभाव देखिएको छैन ।” २०७३ जेठमा पाँच वर्षमा २५ लाख इम्बोस्ड नम्बर वितरण गर्ने गरी बङ्गलादेशी कम्पनी टाइगर डेकाटुरसँग चार अर्ब ९५ करोड रुपियाँको सम्झौता भएको थियो ।
विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।