काठमाडौं, असोज १५ गते । नेपालको सबैभन्दा धेरै पानी पर्ने क्षेत्र लुम्लेमा यस वर्ष औसतभन्दा दुई प्रतिशत बढी पानी परेको छ भने कम मात्रामा पानी पर्ने जोमसोममा भने २४० प्रतिशत पानी परेको मौसम विश्लेषण शाखाको तथ्याङ्क छ । अघिल्लो वर्षहरुको तुलनामा यो वर्षको मनसुन ठीक विपरीत जस्तै बनेको छ ।
मौसम विश्लेषण शाखाकी प्रमुख इन्दिरा कँडेलका अनुसार विहीबार रातीसम्ममा ११५.२ प्रतिशत अर्थात एक हजार ६२०.२ मिलिमिटर पानी परेको छ । यो मनसुनी अवधिको औसत बर्सा भन्दा १५.२ प्रतिशतले बढी हो । यी मध्ये सबै भन्दा धेरै जोमसोममा २४० प्रतिशत पानी परेको हो । यता पूर्वी नेपालको सुनसरीको धरान, ताप्लेजुङमा औसतभन्दा कम पानी परेको छ ।
जल तथा मौसमविज्ञान विभागले यस वर्ष परिमार्जन गरेको मनसुन बाहिरिने औसत दिन अक्टुबर २ अर्थात भोलि (असोज १६ गते) हो तर मनसुनी प्रणाली बाहिरिन अझै एक साता लाग्ने जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको र मनसुनी प्रणाली नेपालबाट वाहिरीन अझै समय लाग्ने भएकाले एक साता लम्विने सम्भावना छ उहाले भन्नुभयो ।
विभागले १० वर्षमा परिवर्तन गर्ने मनसुन अवधिको समय यस वर्ष सेक्टेम्बर २३ लाई परिर्वतन गरेर अक्टुब र २ तारिख तोकेको छ । १२ दिनपछि औसत समय तोके पनि मनसुनी प्रणाली नेपालबाट बाहिरिन अझै एक साता लाग्ने भएको हो ।