पोखरा, असोज १५ गते । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाएको छ । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ८ वर्षीया आइतश्री दमिनी र १ सय ५ वर्षीय सुना कामीलाई महानगरले सम्मान गरेको हो । महानगरले दुबै जनालाई सम्वन्धित वडा कार्यालयमा कार्यक्रम गरी सम्मान गरेको हो ।
पोखरा महानगरपालिका वडा नम्वर २० की दमिनीलाई वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष सिम गुरुङ र कामीलाई पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले नगद १५ हजार, सम्मापनपत्र, फूलमाला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई महानगर माता र पिताका रुपमा सम्मान गर्र्दै आएको छ । अध्यक्ष आर्चायले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिँदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको बताउनुभयो ।
यता पोखरा २० का अध्यक्ष सिमबहादुर गुरुङले जन्मदिने माता र पितालाई सम्मान गर्नुपर्ने बताउदै यो राम्रो कार्यक्रम भएकाले महानगरले ज्येष्ठ नागरिक सम्मान कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । आफना आमा बाबुलाई लालनपाल्न गर्नुपर्ने र हेला गर्न नहुने बताउनुभयो । उहाँले सम्मानले सकारात्मक सोचको विकास गराउने बताउनुभयो । ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलाई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनु पर्ने भनाइ उहाँको थियो ।
कार्यक्रमा महानगर कार्यपालिका सदस्य मनबुजा विश्वकर्मा र १६ का वडा सदस्य विष्णुदेवी परियारले ज्येष्ठ नागरिकलाई सम्मान गर्दा हौसला र आत्मसम्मान बढने बताउनुभयो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत गीता न्यौपाने निरौनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।