पोखरा, असोज १९ गते । पोखरा महानगरपालिका वडा नम्वर ५ म पनि कुकुर पाल्न वडामा दर्ता गर्नुपर्ने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ५ ले पनि कुकुर दर्ता प्रक्रिया सुरु गरेको छ । वडा र महानगर पशु सेवा शाखाको संयूक्त पहलमा कुकुर दर्ता शिविर सुरु गरिएको हो ।पोखरा महानगरपालिका बिधायन समिती संयोजक तथा दलका सचेतक शोभामोहन पौडेलले कुकुर पालक निर्मल खत्रीलाई कुकुर दर्ता कार्ड बितरण गरेर शिविरको सुरुवात गर्नुभएको हो । कार्यक्रममा बोल्दै पौडेलले कुकुर दर्ता अभियान सामान्य जस्तो भएपनि यो महत्वपूर्ण काम भएको बताउदै सबै वडामा सञ्चालन गरिने बताउनुभयो ।
पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले कुकुर दर्ता कार्यक्रम जनताको स्वास्थ र नगरको सभ्यता सङ जोडिएको बिसय भएकाले कुकुर दर्ता गरेर पाल्न आग्रह गर्नुभयो । कुकुर दर्ता बापत गर्न एक सय रुपैयाँ लाग्छ । एक सय रुपैया तिरेर दर्ता गरेपछि रेबिज भ्याक्सिन र घाँटीमा बाध्ने बेल्ट वडाको तर्फवाट निशुल्क उपलब्ध गराइने वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । वडा न ५ मा सोमबार मात्रै ६३ वटा घर पालुवा कुकुर दर्ता भएका छन भने १५ वटा कुकुर लाई रेबिज बिरुद्धको सुइ लगाएको छ । शिविर आज पनि सञ्चालन हुने छ ।
पोखरामा अहिलेसम्म सडकमा छाडा छाडिएका २ हजार कुकुर मध्ये करिब १५०० कुकुर लाई रेविज विरुद्धको भ्याक्सिन लगाइ सकिएको छ । पोखरा महानगरमा सोमबारसम्म ५ सय कुकुर दर्ता भएका छन् ।पोखरा महानगरले पहिलो पटक पोखरा वडा नम्वर ८ बाट कुकुर दर्ता अभियान सुरु गरेको थियो ।