आरोही पूर्णिमालाई फोटो पत्रकार संघ कास्कीको सम्मान

पोखरा, असोज २० गते ।धौलागिरि हिमाल आरोही फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार संघ, कास्कीले सम्मान गरेको छ । बुधबार पोखरामा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो ।संसारको सातौं अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् ।


आर्थिक अभावबीच पनि आरोहण सफल भएको भन्दै उनले खुसी व्यक्त गरिन् । उनले दुई पटकको प्रयासमा धौलागिरि आरोहण गर्न सकेको बताइन् । गत सिजनमा पनि आरोहण लक्ष्य रहेको उनले कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको थियो । पूर्णिमाले अब चाँडै नै कञ्चनजंघा आरोहण गर्ने योजना रहेको जानकारी दिइन् । त्यसपछि मकालु र ल्होत्से आरोहण गर्ने तयारी रहेको बताइन् ।

आरोहणमा हेलीभन्दा पदयात्रामार्फत जाँदा स्थानीय ठाउँको प्रवद्र्धन हुने भएकोले प्रदेश सरकारले सो क्षेत्रमा पदयात्रामा बनाउन पनि उनको सुझाव थियो ।काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत उनले असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् । टिममा ४० जना थिए ।
गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि वैशाख ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले यसअघि सगरमाथा, मनास्लु र आमादब्लम हिमालको आरोहण गरेकी थिइन् ।

कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उचो बनाएको बताए ।टान गण्डकीका प्रथम उपाध्यक्ष धर्म पन्थीले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र उनको आरोहणले विश्व बजारमा चिनाउन मद्दत पुगेको बताए ।यस्तै, फोटो पत्रकार संघ गण्डकी अध्यक्ष राम गुरुङ, फोटो पत्रकार कृष्णमणि बराल, फोटो पत्रकार कास्कीका सचिव दुर्गा पौडेल, सहसचिव उमेश पुन, फोटो पत्रकार धनश्याम पौडेल राधिका कँडेल लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...