नेपालको औद्योगिक घरान लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित लक्ष्मी विद्यापदक २०७८ बाट विद्यार्थीहरु सम्मानित भएका छन् ।
पोउवा संघको ६७ औं साधारण सभाको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातकोत्तर( एमबिएस) मा उत्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका अनिल पौडेल, स्नातक – बिबिएस)तर्फ उत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस पोखराकी ममता शाह तथा स्नातक (बिबिए ) तर्फ उत्कृष्ट अंक ल्याउने पोखरा विश्वविद्यालयअन्तर्गतको पोखरा कलेज अफ म्यानेजमेण्टकी विनु श्रेष्ठलाई नगद र पदकबाट सम्मानित गरिएको हो ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनीहरुलाई सम्मानित गरे । अनिलले ५९.५० प्रतिशत,ममताले ७१.८० प्रतिशत र विनुले ३.९९ सिजिपिए ल्याउँदै पदक प्राप्त गरेका हुन् । अनिलले नगद २५ हजार तथा ममता र विनुले नगद १५÷१५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । लक्ष्मी हाउसका निर्देशक सुनिल श्रेष्ठका अनुसार २०५६ सालबाट हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिँदै आइएको छ ।
उत्कृष्ट बस्तुगत सम्मान पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियनलाई
पोखरा उद्योग वाणिज्य संघले हरेक २ वर्षमा प्रदान गर्दै आइरहेको ‘पोउवा संघ उत्कृष्ट बस्तुगत संघ सम्मान २०७८’ बाट पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियन सम्मानित भएको छ ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार एसोसियसनलाई सो सम्मानबाट सम्मानित गरेका हुन् । संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा गठित सम्मानयोग्य बस्तुगत संघ चयन समितिको सिफारिसमा सो सम्मान प्रदान गरिएको हो । समितिमा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति तथा संघका पूर्वकार्यसमिति सदस्य टीकाराम सापकोटा सदस्य रहेका थिए ।
संघसँग आवद्ध बस्तुगत संघहरुमध्ये गतिविधिका आधारमा हरेक २ वर्षमा सो सम्मान प्रदान गरिँदै आइएको संघका महासचिव सुरेन्द्रमान विजुक्ेछेले जानकारी दिए ।