पोखरा महानगरद्धारा खसी बजारमा अनुगमन

पोखरा, असोज २४ गते । नेपालीहरुको महान पर्व दशैँ सुरु भएको छ । दशैँसंगै बजारमा किनमेल गर्नेहरुका कारण बजारमा भिड ह्वात्तै बढेको छ । खाद्यान्नदेखि लत्ताकपडाका पसलमा बढि भिडभाड बढेको छ ।

चाडपर्वमा उपभोक्ता ठगिएका गुनासा आएपछि पोखरा महानगरपालिकाले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार खसी बजार र फ्रेस हाउमा अनुगमन गरेको महानगर उपभोक्ता हित संरक्षण समिति सदस्यसचिव अनिल कार्कीले जानकारी दिनुभयो ।


पोखराको चाँउथेमा रहेको खसी बजारमा रहेका तीन पसलमा अनुगमन गरेको थियो । जिउदा खसीबोका विक्री वितरणमा बढि मुल्य लिएको र विरामी खसीबोका सस्तोमा विक्री गरेको गुनासो आएपछि आइतबार अनुगमन गरेको हो । बजारमा अनुगमन गर्दा त्यस्तै नदेखिएको र व्यवसायीलाई उपभोक्तालाई बढि मुल्य नलिन र विरामी खसी बोकालाई छुटटै राख्ने व्यवस्था गर्न सुझाव दिएको उहाँले बताउनुभयो । त्यत्तै केही फ्रेस हाउसमा समेत अनुगमन गरिएको थियो । चाउथेमा सञ्चालित सुनिल फ्रेस हाउसले विना दर्ता सञ्चालन भएको पाएपछि बन्द गराइएको सदस्यसविच कार्कीले जानकारी दिनुभयो ।

महानगरमा दर्ता नगरि सञ्चालन गरिएको पाइएकाले दर्ता गरेर मात्रै सञ्चालन पसल बन्द गराइएको बताउनुभयो । चाडपर्वमा म्याद गुज्रेका सामग्री विक्री वितरण गर्ने, बढि मुल्य लिने र विना इजाजत पसल सञ्चालन गर्ने गरेको गुनासो आउने गरेको उहाँको भनाई थियो ।

अनुगमन टोलीमा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर १४ का अध्यक्ष प्रेमबहादुर कार्की, जिल्ला प्रशासन कार्यालय कास्कीका ध्रुवसिंह खडका, वडा सदस्य ढोलबहादुर गुरुङ,महानगर पशु शाखा प्रमुख नवराज अधिकारी, महानगर सहकारी तथा उद्योग वाणिज्य शाखाका अर्जुन नेउपाने, महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव अनिल कार्की, रामबजार प्रहरी कार्यालयका सनम कुमाल लगायत रहनुभएको थियो । महानगरले अनुगमनलाई निरन्तरता दिने बताएको छ ।

 

चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेका कारण अनुगमन गरेका हौ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भन्नुभयो,‘ चाडपर्वमा उपभोक्ता नठगिउन भन्ने उद्देश्यले पोखरामा बजार अनुगमनलाई निरन्ता र तिव्र बनाउनेछौ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...