काठमाडौं, कात्तिक ३ गते । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको हो । त्यस्तै ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका उप सचिव एवं सूचना अधिकारी दिलकुमार तामाङले बुधबार बिहानसक्क बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीपहिरोका कारण कालिकोटमा एक, बैतडीमा चार, डडेरधुरामा एक, डोटीमा नौ, हुम्लामा छ, प्यूठानमा एक, धनकुटामा छ, सुनसरीमा दुई, पाँचथरमा छ, इलाममा ११ र उदयपुरमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको गृहले जनाएको छ ।