बाढीपहिरोमा परी ७७ जनाको मृत्यु

काठमाडौँ, कात्तिक ४ गते । आइतबारदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । मनसुनपछिको वर्षाले बाढीपहिरोमा परी आइतबारयता मात्र ७७ जनाको मृत्यु भएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार बाढीपहिरोमा परी २७ जना अझै बेपत्ता रहेका छन् भने २२ जना घाइते छन् । महाशाखाका अनुसार बुधबार साँझसम्म सबैभन्दा बढी पहिरोले मानिसको ज्यान लिएको छ । जसअनुसार पाँचथरमा पहिरोमा परी २४ जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । डोटीमा १२ जनाको पनि पहिरोले ज्यान लिएको पाण्डेले जानकारी दिनुभयो । त्यस्तै पहिरोबाट कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरमा एक, बझाङमा दुुई, हुम्लामा छ, सोलुखुम्बुमा एक र धनकुटामा सात जनाको मृत्यु भएको छ ।

त्यसैगरी बाढीले बगाएर प्युठानमा एक, मोरङमा एक र उदयपुरमा दुुई जनाको मृत्यु भएको छ । बझाङको भेल पहिरोमा परेर अझै २१ जना हराइरहेका छन् । त्यस्तै इलामको पहिरोमा तीन, जुम्ला र प्युठानको बाढीमा तीन जना हराइरहेका छन् । पछिल्लो विवरणअनुसार आइतबार यता प्रदेश १ मा मात्र बाढीपहिरोले ५० जनाको ज्यान लिएको छ । यसअघि मनसुनको अवधिमा बाढीपहिरोले १२६ जनाको ज्यान लिएको थियो । बाढीपहिरोका कारण देशका विभिन्न ११ जिल्लाका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध भएका छन् । केहीमा एकतर्फी सञ्चालनको प्रयास भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...