पोखरा, कात्तिक २५ गते । नेकपा एमालेको चितवनमा हुने १० औ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया सुरु भएको छ । छनोट प्रक्रिया अन्र्तगत बिहिबार कास्कीका तीन निर्वाचन क्षेत्र र उत्पीडित तर्फको प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भएको छ । कास्कीबाट महाधिवेशनमा कुल ३१ जना प्रतिनिधि सहभागी हुने छन् । ३१ जनाका लागि १सय १६ जनाको उम्मेदवारी परेको छ । विहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदावरी दर्ताको समय तोकिएको थियो ।
कास्की क्षेत्र १ मा ३३ जना जसमा २४ पुरुष ९ महिला , क्षेत्र २ मा ३१ जना जसमा २२ पुरुष ९ महिला , क्षेत्र ३ मा ३७ जना जसमा २५ पुरुष र १२ महिलाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उत्पीडितमा १५ जना ११ पुरुष र ४ जना महिलाले उम्मेदवारी दिएका छन् । तीन निर्वाचन क्षेत्रबाट ९ जनाका दरले र उत्पीडित तर्पm ४ जना छनोट हुने छन् । उत्पीडित चार जना मध्य १ जना महिला प्रतिनिधि रहने ब्यबस्था छ । एक जना महिलाका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
एमालेले प्रतिनिधि छनोटका लागि देशै भर एकै दिन तोकेको छ । कात्तिक २७ प्रतिनिधि छनोट हुने छन् । वडा र पालिका अधिवेशन जस्तै प्रतिनिधि छनोट समेत सर्वसम्मत बनाउने प्रयासमा एमाले कास्कीका लागेको छ । उम्मेदवारीको समय सकिए लगत्तै सर्वसम्मतको प्रयास सुरु भएको छ । शुक्रबारलाई उम्मेदवारीमा दावी विरोधको समय राखिएको छ। २७ गतेसम्म सर्वसम्मतबाट प्रतिनिधिको नाम घोषणा गर्ने योजनामा कास्कीको नेतृत्व जुटेको छ ।कास्कीमा एमालेका संगठित सदस्य १७ हजार ६ सय रहेका छन् । संगठित सदस्य सवैले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।