पोखरा, १८ मंसिर/माइक समातेका विष्णु बास्तोलाले फ्याट्ट भने, ‘यस्तो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’ हुन पनि नेताहरु आउने, सांसदहरु आउने, मन्त्रीहरु आउने कार्यक्रम त भइरहन्छन् । उनीहरु भाषण गर्छन् जनता सुन्छन् । शनिबार पोखरा १९ पुरन्चौरमा भने त्यस्तो भएन । जनताले जिज्ञासा राखे, मन्त्री र सांसदले जवाफ दिए । त्यसैले विष्णुले भनेका हुन्, ‘यतो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’

आउटलाइन मिडिया काठमाडौंले सार्वजनिक सरोकारका विषयमा छलफल गर्न शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवन, प्रदेश सांसदहरु इन्द्रलाल सापकोटा र पियारी थापालाई पुरन्चौर चुरुंगामा जनतासँग आमनेसामने उभ्याएको थियो ।स्थानीयले लामाचौर—माछापुच्छ«े ग्रामीण सडक पहिरोले भत्काएर बिजोग बनाएको समस्या जोडतोडका साथ उठाए । ‘कुन बेला कुन गाडी खसेर कहाँ पुग्ने हो भनेजस्तो छ,’ लालीगुराँस आमा समूहकी अध्यक्ष तारा पौडेलले भनिन् । उक्त सडक गएको बर्खामा पहिरोले भत्काएको थियो । मर्मतका लागि स्टिमेट गर्दा १ करोड रुपैयाँ लाग्ने देखिएको तर बजेट ५० लाख रुपैयाँभन्दा नभएको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले सुनाए । अर्थमन्त्री बरालले सडक मर्मतका लागि बजेट अभाव हुन नदिने बचन दिए ।