काठमाडौं, मंसिर २५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा रगत र पसिना बगाउने अग्रज पुस्ताको योगदानको कदरका लागि आफूले उम्मेदवारी दर्ता गराएको मुख्यमन्त्री पोखरेलले बताएका छन् । उनले भनेका छन्, ‘ युवा पुस्ता र पुराना पुस्ता बीचको अन्तरसंवाद कायम गरी अग्रज पुस्ताका अनुभव र सिकाईलाई नयाँ पुस्तामा हस्तान्तरण तथा पुस्तान्तरण गर्न मैले उम्मेदवारी दिएको हो ।
पार्टीमा मौलाउँदै गएको गुटबन्दीको अन्त्य गरी सिद्धान्तनिष्ठ कार्यकर्ता तयार गर्न, लोकतान्त्रिक आन्दोलनका सहिद परिवार, घाइते, अंगभंग भएका तथा विशिष्ट योगदानकर्ता पहिचान गरी उनीहरुलाई यथोचित सहयोग, संरक्षण तथा सम्मान गर्न आफूले पहल गर्ने उनले उल्लेख गरेका छन् ।
पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न भरमग्दुर काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
पोखरेल कांग्रेसको तर्फबाट देशको पहिलो मुख्यमन्त्री हुन् । दलको नेतृत्वमा सरकार निर्माण गर्ने वातावरण बनाउन र संघीयता कार्यान्वनमा गर्न अहम् भूमिका खेलेका व्यक्ति भएकाले पोखरेललाई जिताउन प्रचारप्रसार समितिले जनाएको छ । समितिले जारी गरेको आह्वानपत्रमा भनिएको छ, ‘महिला, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडावर्ग तथा सीमान्तकृत समुदायको मुल प्रवाहीकरण गर्न, गरिब तथा भूमिहीनका समस्या सम्बोधन गर्नका लागि मुख्यमन्त्री पोखरेललाई जिताउन अनुरोध गर्दछौं ।