पोखराको फेवातालमा माछाका भुरा छोडिएको छ । पोखरा महानगरपालिका वडा नम्वर १८ को वडास्तरीय वजेटबाट तालमा १६ हजार माछाका भुरा छाडिएको हो ।सिल्भर काप र विगहेड जातका माछा तालमा छाडिएको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा आयोजित कार्यक्रममा तालमा माछाका भुरा छाडनुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै फेवातालका माछालाई ब्राण्डिङ गर्नुपर्नमा जोड दिनुभयो । उहाँले फेवातालको माछा संरक्षण र व्राण्डिङ गर्नसके यहाँबाट आश्रित जलारी समुदायको जीवन आर्थिक रुपमा सवल हुने बताउनुभयो । प्रमुख गुरुङले यहाँको जेठोबुढो धानलाई प्याकेजिं गरेर प्रवद्र्धन गर्ने काममा महानगर लागेको बताउदै यहाँको माछा धेरै उत्पादन गरेर विक्री गर्ने वातावरण बनाउन तयार रहेको बताउनुभयो । उहाँले फेवातालको माछा पालनलाई आधुनिकीकरण गर्नुपर्ने खाँचो समेत औल्याउनुभयो । उहाँले फेवाताल किनारमा बसेका जलारी समुदायलाई एकिकृत बस्ती निर्माण गर्ने योजना महानगरको रहेको समेत बताउनुभयो ।
पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा समेत विकास गर्न सकिने बताउनुभयो ।थरिथरिका माछाहरुलाई फेवातालमा पालन गर्नसके पर्यटकका लागि थप आकर्षण बन्ने उहाँको भनाई थियो । यहाँ उत्पादन हुने माछाले जलारी समुदायको जीवन समृद्ध हुने बताउनुभयो । महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछा विक्री वितरण गर्नुपर्नेमा जोड दिदै त्यसको बजारीकरण विविधीकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ज्ञानबाहदुर जलारीले यहाँका जलारी समुदायको जीवन यापनमा माछाले भुमिका खेलेको बताउदै करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुदै गएको बताउनुभयो । पोखरा महानगरपालिका वडा नम्वर १८ का वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ह्याप्पी भिलेज टोलविकास संस्थाका अध्यक्ष महेन्द्र थापा, वडा सचिव चन्द्रकान्त पौडेल लगायतले बोल्नुभएको थियो ।