पोखरा, पुस ४ गते ।अम्बिका–भागवत फाउण्डेशनले दोस्रो वार्षिक साधारण सभाका बीच सङ्घर्षशील र सिर्जनशील प्रतिभालाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ ।फाउण्डेशनद्वारा सञ्चालित हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कार–२०७८ बाट सङ्घर्षशील सामाजिक अभियान्ता असफल गौतम सम्मानित भए । उक्त पुरस्कारको राशि २५ हजार एक सय ५१ रहेको थियो ।
यस्तै सिर्जनशील सामाजिक पुरस्कारबाट बाल अभियान्ता प्रिन्सा रेग्मी सम्मानित भएकी छन् । सो अवसरमा प्रेन्सा ट्रष्टका लागि छ हजार एक सय ५१ सहयोग प्रदान गरिएको थियो । समारोहमा फाउण्डेशनका संस्थापकको गीतमा संगीत र स्वर प्रदान गरेर पु¥याएको योगदानको कदर गर्दै सुनिल गायक र अम्बिका भण्डारीलाई सम्मान गरिएको थियो ।
सम्मानित प्रतिभालाई प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कुशुमकेशव पराजुली, फाउण्डेशन संस्थापक अम्बिका नेपाल, अध्यक्ष भागवत नेपाल र प्रतिभा छनौट समिति संयोजक शिवनारायण बिजुक्छेले संयुक्त रुपमा नगद, दोसल्ला, सम्मानपत्रसहित सम्मान अर्पण गरे ।वरिष्ठ पत्रकार पराजुलीले सङ्घर्षशील र सिर्जनशील प्रतिभालाई एउटै मञ्चमा पुरस्कृत गरेर फाउण्डेशनले आफ्नो गौरव र गरिमा उचो बनाएको बताए । अतिथि पराजुलीले सामाजिक संस्थालाई राज्यले हेर्नुपर्नेमा त्यो हुन नसकेकाले आफ्ना ठाउँबाट केही पहल गर्न आफू पनि सामाजिक संघसंस्थाको उन्नति र विकासमा लागेको औल्याए ।
सम्मानित स्रष्टा असफल गौतमले आफ्नै विवाहका दिन श्रीमतीलाई घरमा जोडेर आफ्नो जिम्मेवारीमा पुगेको स्मरण गर्दै समाजमा मतिरामहरु मतिहिन र धर्मराजहरु विधर्मी हँुदा समाज विशृङ्खल हुँदै गएको बताए । साथै उनले २०६८ सालदेखि आफूले प्राप्त गरेका दान, दक्षिणा, सम्मान र पुरस्कारको रकमबाट चारवटा अक्षयकोष स्थापना गरेर सीमान्तकृत स्रष्टा र समुदायका प्रतिभालाई प्रोत्साहन गर्दै आएकाले संघर्षशील सामाजिक सम्मानको रकम तिनै कोषमा जम्मा हुने गरेको जानकारी दिए ।
बाल सामाजिक अभियान्ता प्रेन्सा रेग्मीले बाबुआमा आफ्ना छोराछोरीको प्रगतिमा खुसी हुने र छोराछोरीका असल कर्मबाट चिनिन पाउँदा गौरव गर्ने भएकाले सबैलाई असल कर्म गर्नका लागि अनुरोध गरिन् । उनले प्रेन्सा ट्रस्ट स्थापना गरी फुड बैंक, बुक बैंक सञ्चालन गर्दै आएकी रेग्मीले जीवनमा धेरै असल काम गर्न बाँकी रहेको बताइन् ।
प्रतिभा छनौट समितिका संयोजक शिवनारायण बिजुक्छेले सम्मानित स्रष्टाको परिचय राख्दै असफल गौतमलाई सभ्य समाजको एउटा ज्योतिका रुपमा परिचित गराए । उनले असफल गौतम जस्ता प्रतिभालाई सम्मान अर्पण गर्न पाउँदा फाउण्डेशन आफैँ सम्मानित भएको आभाष भएको धारणा राखे ।
फाउण्डेशनका अध्यक्ष भागवत नेपालले फाउण्डेशन सदा सीमान्तकृत समुदायका आधारभूत आवश्यकता परिपूर्तिमा क्रियाशील रहेको बताए ।
कोषाध्यक्ष माधवी नेपाल थापाले आर्थिक र सचिव देवी श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेको सभामा कानुनी सल्लाहकार विनिता नेपाली, समाजसेवी गोविन्द दवाडी, माया तिवारी, अम्बिका भण्डारी, सुनिल गायक, वर्षा श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।सोही समारोहबीच फाउण्डेशनको संरक्षकत्वमा एसइई उत्तीर्ण चार विद्यार्थी वर्षा श्रेष्ठ, आकृति खड्का, कृषिक सेन्चुरी र विवेक श्रेष्ठलाई पुरस्कृत र संस्थाका संस्थापकलाई संस्थापक सदस्यताको प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।