सिन्धुलीमाढी, पुस ७ गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–११, डुडेगैरीमा सोमबार राति जङ्गली हात्तीले थप चार घर भत्काएको छ । यो सहित उक्त वडामा छ दिनभित्र जङ्गली हात्तीले २८ घर भत्काइसकेको स्थानीयले जनाएका छन् । वडा नं. ११ का वडाध्यक्ष कुमार लामाका अनुसार सोमबार राति तीनवटा जङ्गली हात्तीले डुडेगैरीको मुसहर समुदायका चार घर भत्काउनुका साथै अन्न र फलफूलसमेत नष्ट गरे ।
स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको घर भत्काएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य रातमा हात्ती बस्तीमा छिरेपछि स्थानीयको भागाभाग भएको थियो । योसमेत माथिल्लो पत्रिङ्गा र डुडेगैरीमा गरी हात्तीले आक्रमण गरी २८ घर भत्काएको छ । जङ्गली हात्तीले घर भत्काएपछि पीडित परिवारको विचल्ली भएको छ ।