पोखरा, लोकसँस्कृतिका विशिष्ट व्यक्तित्व, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष, तमु धिं नेपालका सहसचिव एव साँस्कृतिक विभाग संयोजक मेनकाजी गुरुङको स्मृतिमा स्थापना गरिने कोषमा तमु धिं नेपालले २ लाख १ हजार ५ रुपैया प्रदान गर्ने भएको छ।
कोरोनाका कारण सवैको प्रिय वरिष्ठ सँस्कृतिकर्मी, समाजसेवी मेनकाजी गुरुङको श्रीमान श्रीमति दुवैलाई गुमाउन परेको पिडामा सदा स्मरणका लागि हिमाली साँस्कृतिक परिवारले स्थापित गरेको स्मृतिकोषमा शुक्रबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताइएको छ। तमु धिंका सहसचिव, साँस्कृतिक संयोजक स्वर्गीय गुरुङको स्मृतिमा तमु धिं आफै अक्षयकोष स्थापित गर्ने सोंच भए पनि परिवारका तर्फबाट एक मात्र कोष स्थापना गर्ने, उक्त कोषको संचालन हिमाली साँस्कृतिक परिवारले गर्ने जानकारीका कारण हिमालीद्धारा स्थापित कोषमा रकम प्रदान गर्ने भएको तमु धिंले जनाएको छ। उक्त कोष राष्ट्रियकोषकै रुपमा अघि बढ्ने विश्वासका साथ तमु धिंले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको कोषाध्यक्ष गमबहादुर गुरुङले बताउनुभयो।
सबैको साझा व्यक्तित्व भएर पनि होला धेरै संघ संस्थाबाट अक्षयकोष स्थापना गर्ने सोंच बनाएको भन्ने आग्रह आएकाले एउटा मात्र कोष सबैको भावना समेट्ने गरी हिमाली साँस्कृतिक परिवारलाई स्मृतिकोषका लागि जिम्मेवारी दिइएको स्वर्गीय गुरुङको भाई श्रीजंग गुरुङले बताउनुभयो। उहाँ सबैको हुनुहुन्थ्यो स्थापित कोष पनि सबैका लागि हुनेछ र सबैलाई समेटेर राष्ट्रियस्तरको होस भन्ने हाम्रो आशा हो, उहाँले भन्नुभयो।स्व.मेनकाजी स्मृतिकोषका लागि हिमाली साँस्कृतिक परिवारका सल्लाहकार रुद्रकुमारी गुरुङको संयोजकत्वमा अभियान संचालन भईरहेको परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो।