काठमाडौँ, पुस १२ गते । जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा पहाडी र हिमाली भेगमा वर्षा, हिमपात हुने र चिसो ह्वात्तै बढ्ने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले यस्तो अपिल गरेको हो ।
महाशाखाले आइतबारदेखि बदली सुरु भई पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली भित्रिएको जानकारी दिएको छ । जसका कारण आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था सिर्जना भएको छ ।
साथै पहाडी भूभागको केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको छ । सोमबारदेखि भने देशको पहाडी तथा हिमाली भेगमा बदलीसहित हल्का वर्षा र हिमपात हुनेछ । तराईमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
मङ्गलबार र बुधबार पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिई पहाडी र उच्च हिमाली भेगमा वर्षा र हिमपात निरन्तर गराउने सम्भावना छ । बिहीबारदेखि भने अहिलेको यो प्रणाली कमजोर हुँदै जाने आकलन गरिएको छ ।हिउँदे मौसमी प्रणालीका कारण यस अवधिमा पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा असर पुग्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।