दमक, पुस १४ गते । झापाको दमकमा मङ्गलबार राति भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक एवं डिएसपी नवराज थापाका अनुसार दमक नगरपालिका वडा नं . २ भाङबारीमा भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
राती करिब ११ बजे प्र१–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएको र तीनैजना एउटै मोटरसाइकलमा रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल वि.क, चितवन राप्ती ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइँखोला ३ का १९ वर्षीय अनिल लामगादेको मृत्यु भएको छ । उनीहरु दमकमा सुन पसलमा कालिगढको रुपमा काम गर्दै आएको बुझिएको पनि प्रहरीको भनाइ छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।