पोखरा, पुस १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबीच बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमै भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल भएको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरण लगायतका परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै २ मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको मुख्यमन्त्रीको भनाइ थियो ।
नेपालबाट हाते कागजका साथै हस्तकलाका सामग्री, गार्मेन्ट ऊनका सामग्री र चाँदीका गरगहना निर्यात हुँदै आएको पनि मुख्यमन्त्रीले बताए । गण्डकी प्रदेशको विकासको आधार पर्यटन नै रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा पुगेकाले फ्रान्सबाट थप पर्यटक नेपाल आउने विश्वास उनले व्यक्त गरे ।
पर्यटन प्रवद्र्धन, जलविद्युत लगायतका क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहेकाले फ्रान्सले वातावरण हेरेर लगानी गर्न पनि मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओले नेपालीको वहुपक्षीय विकासका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताए । फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेर कीर्तिमान रचेको स्मरण गर्दै उनले गण्डकी र आसपासको क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाका बारेमा समेत चासो देखाएका थिए ।
प्रदेशका प्रमुख सचिव रवीलाल पन्थले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको भन्दै फ्रान्सेली नागरिकलाई पोखरा घुम्नका लागि राजदूतमार्फत निमन्त्रण दिए ।प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले गण्डकी प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी गराउँदै यसमा लगानीका लागि फ्रान्सेली लगानीकर्तासमक्ष सन्देश पु¥याइदिन आग्रह गरे ।