पोखरा ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार कानून निर्माण गर्न तर्फ मात्रै नभई कार्यान्वयनमा समेत केन्द्रीत रहेको बताउनुभएको छ । मूख्य न्यायाधिवक्ताको कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा बुधबार भएको गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारी सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री थापाले नेपालको संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचन पश्चात गठन भएको प्रदेश सरकार तथा प्रदेश सभाले लगभग ४ वर्षको यात्रामा ५० वटा ऐन र ११ वटा नियमावली जारी गरिसकेको र अहिले कार्यान्वयनको पक्षमा रहेको उल्लेख गर्नुभयो ।
‘प्रदेश सरकारकाले ऐन सहित धेरै संख्यामा निर्देशिका, कार्यविधि, मापदण्ड तथा गठन आदेश जारी गरेको छ’,उहाँले भन्नुभयो,‘संघीयताको आभाष दिलाउने गरी अब बनेका कानूनहरुको कार्यान्वयन तर्फ हामी केन्द्रीत छौं ।’
मन्त्री थापाले प्रचलित कानूनको बारेमा हरेक सरोकारवालाहरुले जानकारी राख्न जरुरी रहेको र कानूनको अज्ञानता क्षम्य नहुने बताउनुभएको छ ।
बेलाबेलामा कानून मन्त्रालयले कानून र तिनको प्रावधानको बारेमा जानकारी राख्न तालिम गोष्ठी लगायतका कार्यक्रम समेत गर्ने गरेको भनाई उहाँको छ ।