पोखरा,माघ १२ गते । राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशको राजधानीमा आज मतदान हुँदैछ । मतदानका लागि आठ मतदान स्थल र १४ मतदान केन्द्र तयार गरिएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा मतदानका लागि बुथ निर्माण भइसकेकाले आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जनाएको छ ।राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानको समयय तोकेको छ । । गण्डकी प्रदेशका लागि प्रदेश राजधानी पोखारामा मतदान केन्द्र तोकिएको छ । स्थानिय तहका प्रमुख, उप्रमुख, संघीय सांसदका सदस्य र प्रदेश सभा सदस्यहरुले मतदात गर्न पाउने छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा गण्डकी प्रदेशबाट तीन सदस्य चयन हुनेछन् ।गण्डकीका दिनानाथ शर्मा र शान्तिकुमारी बीसी र समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विकको पदावधि सकिँदैछ । २०७८ फागुन २० गतेसम्म गण्डकीका ३ जनाले ४ वर्षे कार्यकाल पूरा गर्दैछन् ।रिक्त पदका लागि नेकपा एमालेले कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लिला थनेत र स्याजाका अर्जुन सुनामलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एक र एक सिट पाएका छन् । कांग्रेसले गोरखाकी कमला पन्तलाई उम्मेदवार बनाएको छ भने माओबादीले सुरेश आलेमगर र भुवन सुनारलाई उम्मेवदार बनाएको छ । मतभार हेर्दा सत्तारुढ गठबन्धनलाई सहज देखिएको छ ।
गण्डकी प्रदेशमा ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता छन् । राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सांसद कृष्ण थापा कारबाहीमा परेपछि प्रदेशसभाको एक पद रिक्त छ ।राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुखरउपप्रमुख र प्रदेश सभा सदस्य सहभागी हुन्छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ ।
गण्डकीमा सबै पार्टीको एकल प्रतिस्पर्धा भएको खण्डमा सबै सिटमा एमालेले जीत हासिल गर्ने स्थिति थियो । ८५ स्थानीय तहको १ सय ७० सीटमध्ये अध्यक्षरउपाध्यक्ष, मेयररउपमेयर गरी ७० जना र ६० सदस्यीय प्रदेश सभामा २७ जना प्रदेश सभा एमालेका छन् ।स्थानीय र प्रदेश सभा गरी एमाले एक्लैको मतभार २ हजार ५५६ हुन्छ । तर, स्थानीय तहको सबभन्दा ठूलो र प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित ५ दलीय गठबन्धन एक ठाउँ हुँदा उनीहरु बलियो भएका छन् ।
गण्डकीमा एमालेबाट फुटेको एकीकृत समाजवादी कमजोर छ । प्रदेश सभामा एक जना पनि एकीकृत समाजवादीका सांसद छैनन् भने स्थानीय तहमा ८५ मध्ये आँधीखोला गाउँपालिका उपाध्यक्ष एक जनामात्र छन् ।गण्डकीमा ५ दलीय गठबन्धनमा कांग्रेस (२१९६), माओवादी (७९२), जनता समाजवादी (९६), राष्ट्रिय जनमोर्चा (१५०) र एकीकृत समाजवादी (१८) मिल्दा मतभार ३ हजार २ सय ५२ हुन आउँछ । यसरी हेर्दा ५ दलीय गठबन्धनसँग एमाले ६९६ मतभारले पछाडि छ ।
मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) पनि गठबन्धनको प्रदेश सरकारमा मन्त्री छन् । उनले पनि गठबन्धनका उम्मेदवारलाई मत हाल्दा ३३०० मतभार हुने देखिएको छ ।बागलुङ नगरपालिकाको उपप्रमुख र म्याग्दी बेनी नगरपालिकाको उपप्रमुखमा राप्रपाले जितेको छ ।
स्थानीय तहको निर्वाचन हुँदा २ जनाले स्वतन्त्र रुपमा जितेका थिए । तर, स्वतन्त्र चुनाव जितेका मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा पछि कांग्रेस प्रवेश गरे भने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छेप्तेन गुरुङ (राजु विष्ट)एमाले प्रवेश गरेका छन् ।
आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा तयारी पूरा भएको जानकारी दिनुभएको छ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।
सातवटा प्रदेशमा कुल दुई हजार २५ जना मतदाता छन् । यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । आयोगका अनुसार प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको छ ।