पोखरा, माघ १७ /गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको काम अगाडि बढ्ने भएको छ । दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन ।
चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि बढाउने निधो भएको हो । लामो समयदेखि अड्किएको फाइल सोमबार नै वन तथा वातावरण सचिव पेमनारायण कँडेलले सदर गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको सपना अब साकार हुने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे । ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो काम गर्न सकेन, किन सकेन भने निकुञ्जका कारणले सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रिया सुरु भएको छ, अब वातावरणीय प्रभाव अध्ययनको काम सुरु हुन्छ ।’ सुरुङ मार्ग वा फ्लाइ ओभर के बनाउने अध्ययनपछि टुंगो लाग्ने उनको भनाइ थियो । ८ किलोमिटर निकुञ्ज क्षेत्रमा सुरुङ मार्ग निर्माणका बारेमा समेत छलफल चलेको उनले बताए । यो खर्चिलो भएको भए पनि क्रमागत रुपमा गर्न सकिने उनको भनाइ छ ।
यो बाटोको महत्वका बारेमा मुख्यमन्त्री पोखरेलले सोमबार वन मन्त्रालयमै पुगेर मन्त्रीलाई अवगत गराएका थिए । त्यसलगत्तै सचिव कँडेलले फाइल सदर गरेका हुन् । मन्त्री यादवले भने, ‘हामी मुलुकको विकासका लागि अगाडि बढेका छौं, सानातिना समस्यामा अल्झेर हुँदैन, विकासका लागि निकास खोज्न हामी चुक्नु हुँदैन ।’