हरि वास्तोला ।गण्डकी, १८ माघ । जेष्ठ नागरिकका हक हितमा कृयाशिल सस्था जेष्ठ नागरिक सरोकार समाज नेपालले एक सय बर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ ।संस्थाले जेष्ठ नागरिक प्रतिको सामाजिक उत्तरदायित्व समेत वहन गर्दै एक सय बर्ष माथिका नागरिकलाई सम्मान गर्दै उनीहरुबाट आशिर्वाद लिने अभियानलाई संस्थागत रुपमै अघि बढाएको हो । दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने व्यवस्था छ ।
ज्येष्ठ नागरिक समाजका गौरव रहेको र उनीहरूका अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणा दायक हुने कुरालाई आत्मसात गर्दै उनीहरूको आत्मसम्मानका लागि पनि सम्मान जरुरी ठानी यो अभियान सुरु गरिएको समाजका अध्यक्ष.भक्त बहादुर श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार २०७२ सालबाट शुरु गरिएको उक्त अभियान अन्तर्गत हालसम्म एकसय बर्षदेखि ११५ बर्षसम्मका समाजका १२ जना आमा बुवालाई उहाँहरुको घरमै पुगेर सम्मान गरिंदै आएको छ ।
“समाजका जेष्ठ नागरिकहरुले आप्mनो जीवनको उर्जाशित समय परिवार, समाज र राष्ट्रका लागि योगदान गरेका हुन्छन्” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “पछिल्लो समय सन्तान आप्mनो जिम्मेवारीबाट बृद्ध आमा बुवाप्रति गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट पन्छिने प्रचलन बढेकोमा दुःख लाग्दछ ।”संस्थाले पोखरा महानगरपालिका वडा नं. ३१ पचघैया ११५ बर्षीय धन कुमारी गुरुङ, भक्तपुर नगरकोट की १०७ बर्षीय सुनकान्छी लामिछाने, पोखरा १२ सितलादेवीका लालबहादुर गुरुङ र १०२ बर्षीय यारु गुरुङ, पोखरा १९ पुरन्चौरकी १०१ बर्षिय धनमाया गौतम,पोखरा ३२ लामेआलकी १०२ मानकुमारी श्रेष्ठ, कास्की लिप्यानी १०१ बर्षीय तिलोत्तमा न्यौपानेलाई सम्मान गरि सकेको छ ।
त्यसैगरि मादी गाउँपालिका तारकांङका १०१ बर्षिय वामदेव सापकोटा, पोखरा १० १०३ बर्षिय कुलबहादुर गुरुङ, पोखरा १३ आर्वाका १०२ बर्षीय टिकाराम बराल, पोखरा २७ कन्दनिडाँडास्थित पूर्व सभामुख तारानाथ रानाभाटकी १०१ बर्षिय आमा खिमकुमारी रानाभाटलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष केशव प्रसाद ढकालले बताउनुभयो ।सम्मानितमध्ये सुनकान्छी लामिछाने, कुलबहादुर गुरुङ र मानकुमारी श्रेष्ठ अहिले पनि जिवितै हुनु हुन्छ भने अन्य सम्मानित समाजका अग्रज आमा बुवाको स्वर्गारोहण भई सकेको यहाँ आयोजित एक जेष्ठनागरिकको सम्मान कार्यक्रममा उहाँले जानकारी गराउनु भएको हो ।