काठमाडौँ, माघ २४ गते । काठमाडौँमा सोमबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको बताउनुभयो ।उहाँले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।
हरेक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले भन्नुभयो, “कुन विद्यालयमा कहिले खोप लगाउने टुङ्गो काठमाडौँ महानगरपालिका र अन्य नगरपालिकाहरूले गर्नेछन् ।” काफ्लेले काठमाडौँमा यसअघि दुई लाख सात हजार जना १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूले खोप लगाएको जानकारी दिँदै अब दोस्रो चरणको खोप पनि उनीहरूलाई लगाइने बताउनुभयो ।
गत पुस २७ गतेदेखि सञ्चालन भएको फाइजर खोप अभियानमा खोप लगाएका १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइनेछ । यसरी खोप लगाउनका लागि पहिलो पटक लगाएका खोपको कार्ड लिएर जानुपर्नेछ ।