पोखरा, फागुन १ गते । पर्यटकीय नगरी पोखराको सृजनाचोकमा निर्माण भएको आकाशेपुलको उद्घाटन भएको छ । पोखराका ब्यस्त चोकहरु मध्येको एक पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सृजनाचोकमा आकाशे पुल निर्माण गरिएको हो । मुख्यचोकमाहरुमा बढदो ट्राफिक जामलाई घटाउने उद्धेश्यले पोखरा महानगरपालिकाको २ करोड १० लाख ३० हजार ७९९ को लागतमा आकाशे पुल निर्माण सम्पन्न भएको हो ।
पुलको आइतबार साँझ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभयो । पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरले जनताको अपेक्षा अनुसार विकास निर्माणका कामलाई अगाडी बढाएको बताउदै यस्ता पूर्वाधारको सरक्षण गर्ने जिम्मेवारी र दायित्व नागरिकको पनि भएको रहने बताउनुभयो । पुलले पैदलयात्रीलाई सहज बनाउदै पर्यटकीय गन्तब्यका रुपमा समेत विकास भएको बताउदै भन्नुभयो,‘यसलाई थप सुन्दर बनाउन नागरिकसंगै यहाँ सञ्चालित व्यवसायीहरुको समेत भुमिका रहने विश्वास गरेको छु ।’
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पुल निर्माणले सडक पार गर्न सहज हुने बताउदै पर्यकीय आकर्षण बनेको समेत बताउनुभयो । उहाँले विगतमा पुल निर्माण खोला नालाका लागि परिकल्पना गरिएपनि मानव विकाससंगै सडक सुरक्षाका लागि निर्माणको परिकल्पना गरिएको बताउनुभयो । उहाँले पुल निर्माणका लागि स्वः रवीन्द्र अधिकारीले रकम विनियोजन गरेको भन्दै उहाँको स्मरण गर्नुभयो । पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपालीले स्थानीय निर्वाचनको बेला जनताकावीचमा गरेको प्रतिवद्धता अनुसार पुल निर्माण भएको बताउनुभयो । उहाँले एउटा सपनालाई विपनामा परिणत भएको बताउदै जनताको समृद्धि र विकासको चाहनालाई पुरा गर्ने योजना सहित अगाडी बढेको बताउदै जनप्रतिनिधिले गरेका कामको परिणाम आउने क्रम सुरु भएको बताउनुभयो ।
२०७७ चैत मसान्त सम्ममा निर्माण गरिसक्ने लक्ष्यसहित आकाशेपुलको निर्माण कार्य शुरु गरिएको भएपनि कोरोना भाइरस संक्रमण लगायत अन्य कारणले ढिला भएको महानगरका इन्जिनियर अनिल आचार्यले जानकारी दिनुभयो ।६ महिना कोरोनाका कारण र चार महिना विद्युत पोलका कारण ढिला भएको बताउनुभयो ।
महानगरपालिकाको २ करोड र स्वः रवीन्द्र अधिकारीले सांसद विकास कोर्षबाट विनियोजित ५० लाखबाट पुल निर्माण गरिएको वडाध्यक्ष रुद्रनाथ बरालले बताउनुभयो । पुल निर्माणको जिम्मा के.एम. जे.बि.एन.एस. पोखराले ठेक्का पाएको थियो । पृथ्वीचोकबाट लेकसाइड र विरौटाबाट विन्ध्यबासिनी जोड्ने सृजनाचोकको चारैतिर आकाशेपुल हुनेगरी निर्माण गरिएको छ । उक्त पुल फलामे रहेको छ । कार्यक्रम वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आकाशे पुल निर्माणपछि पोखराको जाम केहि कम हुने आशा गरिएको छ । सृजनाचोक ब्यस्त चोकहरु मध्येको एक भएकाले यहाँको जामले अन्य चोकहरुमापनि असर पर्ने भएकाले यहाँ आकाशेपुल निर्माण गरिएको दावी महानगरको रहेको छ ।