गौतम बुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान आजदेखि

काठमाडौँ/भैरहवा, फागुन ६ गते । कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ ।

१० दिनसम्म प्राविधिक परीक्षण उडान गरेपछि नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । त्यसपछि व्यवसायिक उडानको तयारी सुरु हुने छ । सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।

 

ढिलै भए पनि आयोजना सम्पन्न भएर क्यालिबे्रसन उडानको अवस्थामा पुग्नु सुखद भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । “क्यालिबे्रसन उडानले ७० वर्षपछि मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको ढोका खुल्नेछ,” उहाँले भन्नुभयो ।

 

कुनै पनि नयाँ विमानस्थल सञ्चालनमा आउनुपूर्व विमानस्थलमा जडान गरिएका हवाई उपकरणहरू परीक्षणका लागि गरिने उडान नै क्यालिबे्रसन उडान हो । क्यालिबे्रसन उडानपछि जडित उपकरणहरूले सही तरिकाबाट काम गरे या नगरेको तथा कुनै कमजोरी भए त्यो पत्ता लगाउन सकिने प्राधिकरणका सीएनएस विज्ञ मुकुल मिश्रले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...