लेखनाथ ।पोखरा महानगरपालिका अन्र्तगतको गण्डकी बहुप्राविधिक शिक्षालयको भवनको शनिवार एक कार्यक्रमका विच शिलन्यास भएको छ । पोखरा महानगरपालिका वडा नं. २९ र ३० को खल्याणमा निर्माण हुने भवनको संघीय सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सीले शिलन्यास गरेका हुन ।
शिलन्यास कार्यक्रममा बोल्दै संघीय सांसद खगराज अधिकारीले प्राविधिक शिक्षा हासिल गरेका जनशक्ति विश्वको जुनसुकै मुलुकमा पुगे पनि खपत हुने बताए । उनले गुणस्तरिय शिक्षामा जोड दिन गण्डकी वहुप्राविधिक शिक्षालयलाई आग्रह गरे ।कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले तोकिएकै समयमा निर्माण कार्य सक्ने कन्टयाक्टरलाई आग्रह गरे । सांसद कोइरालाले नतिजा र व्यवहारिक शिक्षाबाट नै मुलुकको समृद्धिमा सहयोग पुग्ने उल्लेख गरे ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि ले भवन शिलन्यासले महानगरपालिकाले प्राविधिक शिक्षामा दिएको जोडको एउटा सपना साकार हुने बताए । उनले प्राविधिक शिक्षालयबाट स्थानीय वासिन्दा सवैभन्दा बढी लाभान्वीत हुने उल्लेख गर्दै त्यसको सदुपयोग गर्न आग्रह गरे ।
११ करोड ४२ लाख रुपैयाको लागतमा बन्ने तीन तले भवन २०७९ सालको फागुन भित्र सम्पन्न हुने छ । भवन निर्माणको जिम्मा भूमि इन्फास्ट्रक्चर प्रा.लि विराटनगरले पाएको छ । निर्धारित समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिने प्रोजेक्ट इन्जिनियर माधव कार्कीले जानकारी दिए ।