पोखरा, २२ चैत । कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्धेश्यसहित पोखरामा आयोजना हुने १७ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा महोत्सव संचालन हुने छ ।
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरु गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर संघले पहिलोपटक सडकमा नै महोत्सव आयोजना गर्न लागेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले बताए । पोखराका होटलमा अहिले २० प्रतिशत हाराहारी अकुपेन्सी रहेको जानकारी दिंदै सुवेदीले आन्तरिक र भारतीय पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । महोत्सवका अवसरमा आफ्ना सदस्य होटलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गर्दै अध्यक्ष सुवेदीले रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका वापजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पछिल्ला बर्षहरुमा पोखरा र वरपरका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यहरु थपिने क्रम रहेको स्मरण गराउँदै यसले पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने विचार राखे । विशाल शिव मूर्ति, केवलकार, बञ्जी जम्पिङ र जिपलाइन जस्ता पर्यटकीय सम्पदाले यस क्षेत्रमा आकर्षण थपिएको पराजुलीले बताए । होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि कार्यक्रममा आफ्ना भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।
परम्परागत नेपाली खानाको प्रस्तुती र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, प्रख्यात कलाकारबाट पप कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुती र लोक दोहोरीका कार्यक्रम महोत्सवका आकर्षण रहेका छन् । अम्मट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी ती कार्यक्रमहरु संचालन गरिने संघले जनाएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य महोत्सवले लिएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ भने नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु