काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि एक लाख ५० हजार ४९४ जनाको उमेदवारी परेको छ ।
निर्वाचन आयोगले मंगलबार राति अध्यावधिक गरेको तथ्यांकानुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखका लागि तीन हजार ४६६ जनाको उमेदवारी परेको छ । उपप्रमुखका लागि दुई हजार १३६ जनाको उमेदवारी दर्ता भएको छ ।
यस्तै, गाउँपालिकाका अध्यक्षका लागि तीन हजार ३७८ र उपाध्यक्षका लागि दुई हजार ३९२ जनाको उमेदवारी दर्ता भएको छ ।
वडाध्यक्षका लागि ३४ हजार ९४३, महिला वडा सदस्यका लागि २६ हजार ६३ र दलित महिला वडा सदस्यका लागि २३ हजार ४७० जनाको उमेदवारी परेको छ । वडा सदस्यका लागि ५४ हजार ६४६ जनाको उमेदवारी दर्ता भएको आयोगले जानकारी गराएको छ ।
आयोगको तथ्यांकानुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडाध्यक्ष पदका लागि सबैभन्दा बढी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट उमेदवारी परेको छ ।
प्रमुखका लागि एमालेबाट २८८, उपप्रमुखका लागि २८३, अध्यक्षका लागि ४४६ र उपाध्यक्ष पदका लागि ४४५ जनाको उमेदवारी परेको आयोगले जानकारी दिएको छ ।
यस्तै, नेपाली कांग्रेसबाट प्रमुख पदका लागि २६३, अध्यक्षका लागि ३८२ जनाको उमेदवारी परेको छ । उपाध्यक्ष पदका लागि २९१ जनाको उमेदवारी परेको छ ।
स्वतन्त्रबाट प्रमुख पदका लागि एक हजार ३७६ र अध्यक्षका लागि एक हजार २२४ जनाको उमेदवारी परेको आयोगले जनाएको छ । यो राजनीतिक दलगत उमेदवारीभन्दा बढी हो । यी पदमा स्वतन्त्र उमेदवारले दललाई उछिनेका छन् ।