वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको सदस्य पदमा मनोनयन दर्ता गराएका नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवारको मनोनयन खारेज भएको छ ।
हेटौंडा उपमहानगरपालिका १ मा खुल्लातर्फको सदस्य पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका पवन थोकरको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय,हेटौंडाले जनाएको छ । दुई सदस्य पदका लागि ३ जनाको उम्मेदवारी परेको र त्यस उपर छानविनको क्रममा थोकरको उम्मेदवारीमा पार्टीको सिफारिस प्रमाणित हुन नसके पछि उम्मेदवारी खारेज गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकामा मनोनयन दर्ता गरेका २ जना विरुद्ध परेको उजुरी बदर भएको छ । नेकपा एमालेबाट हेटौंडा–४ का वडा अध्यक्षका उम्मेदवार नवीन सिग्देल र हेटौंडा– १९ का वडा अध्यक्षका उम्मेदवार नरनाथ सुवेदीविरुद्ध परेको उजुरी प्रमाण नपुगेपछि बदर गरिएको कार्यालयले जनाएको छ । उनीहरुको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
अधिकृत शर्माकाअनुसार सिग्देलविरुद्ध अवैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको उजुरी परेको थियो भने सुवेदीविरुद्ध कर छली गरेको आरोपसहितको उजुरी परेको थियो ।