पोखरा, वैशाख २१ ।नेपाललाई माया गर्ने सबै नेपालीको आस्था नेकपा एमालेमा रहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, विदेशीसँग लम्पसार नपर्ने, आफ्नो स्वाभिमानलाई उँचो राख्ने राष्ट्रवादी पार्टी नेकपा एमाले रहेकाले राष्ट्रवादी नागरिकको आस्था पनि एमालेमा नै रहेको उनको ठोकुवा छ ।
नेकपा एमाले पोखरा वडा नं. ८ को वृहत चुनावी भेलालाई सम्बोधनका क्रममा प्रमुख आमन्त्रित व्यक्तित्व गुरुङले परमादेशबाट स्थापित यो सरकारलाई ढाल्न र अपवित्र गठबन्धनलाई तहसनहस पार्न नेपाली जनताले सूर्यमा भोट हाल्ने दाबी गरे ।
‘देश समृद्ध बनाउने एमाले हो । नेपालीलाई सुखी राख्ने एमाले हो । देश बचाउने एमाले हो । त्यसैले एमालेलाई हरेक तहको निर्वाचनमा भोट हाल्नुपर्छ ।’ पार्टीका प्रचार विभाग प्रमुख गुरुङले भने – ‘स्थानिय तहमा झन् एमाले जिताउनै पर्छ । गाउँगाउँमा एमालेको नीति स्थापित गर्न एमाले जिताउनुपर्छ । गाउँ समृद्ध बने मात्रै देश समृद्ध बन्ने भएकाले गाउँ गाउँको सरकार पनि एमालेकै हुनुपर्छ । त्यसैले अहिले सूर्यमै लहरै भोट हाल्नुपर्छ ।’
पाँच दलीय गठबन्धन एकातिर र सिंगो एमाले एकातिर रहेपनि जनताले राष्ट्रघात विरुद्ध राष्ट्रवाद, असत्य विरुद्ध सत्य, अन्याय विरुद्ध न्यायको तराजुमा जोखेर जनताले एमालेलाई नै भारी मतले जिताउने बताए । ‘यसपटक ६७ प्रतिशत मत एमालेको पक्षमा खस्छ । कम्तिमा ५० प्रतिशत ठाउँ त एमाले एक्लैले जित्छ जित्छ’ गुरुङको ठोकुवा छ ‘यत्ति हो एमालेभित्र एकता हुनुपर्छ । हामीमै एकता हुन जरुरी छ । काँग्रेस छिन्नभिन्न छ । प्रचण्ड र माधव नेपालहरु त मोहनविक्रम सिंह जस्ता हुनेछन् ।’
माधव नेपाल वंशनाश गर्ने कंश, प्रचण्ड काँग्रेस भइसके
उपमहासचिव गुरुङले माधव नेपाल वंशनास गर्ने कसं रहेको आरोप लगाए । ‘माधव नेपालजीको पदलोलुपता र महत्वाकांक्षाले यो अवस्था आयो । वंशनास गर्नुभयो । माधव र प्रचण्डको वंश कम्युनिष्ट हो कि दलाल पूँजीवादी काँग्रेस हो ? उहाँहरु कम्युनिष्ट हारोस्, उम्मेदवार नै नउठोस्, काँग्रेस जिताऔं भनेर हिँड्नुभएको छ ।’ गुरुङले भने ।
प्रचण्डको पार्टी विसर्जनतर्फ गइसकेको ठोकुवा गर्दै उनले थपे – प्रचण्डको पार्टी जिवन्त हो भने चुनावमा घोषणापत्र किन आएन ? काँग्रेसकै घोषणापत्र बोकेर हिँडेपछि प्रचण्ड माओवादी भए ? माक्र्सवादी भए ? लेनिनवाद कता गयो ? अब उहाँमा नातावाद मात्र बाँकी छ । काँग्रेसको धोती समातेर समाजवादको बैतर्णी तर्न खोज्ने माधव र प्रचण्डको हालत अब चुनावपछि के हुन्छ हेर्नुहोला।
उपमहासचिव गुरुङले भूगोलमा देशकै ठूलो र जनसंख्यामा दोस्रो ठूलो पोखरा महानगरमा अब मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले जितेपछि विकासको लहर चल्ने बताए । पोखराका ३३ वटै वडा र चारै गाउँपालिकासहित त्यहाँका सबै वडामा एमालेले विजयको झण्डा फहराउने उनको भनाई थियो ।
पहिलो कार्यकलामा राम्रो काम गरेकै कारण थापाको चर्चा अहिले भएको र पार्टीले पनि गर्न सक्ने भएरै उम्मेदवार बनाएको भन्दै गुरुङले उपमेयर गुरुङ त आफ्नो कार्यकालमा देशमै सर्वोत्कृष्ट उपमेयर बनेकाले पोखरेलीले जिताउने ठोकुवा गरे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज भीम कार्कीले आठ सूर्य रहेको सात बाकसमा सात छाप लगाएर सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन अपिल गरे । गठबन्धन आफै लडेर सक्किने भन्दै उनले जनताले देशभर एमालेलाई पुनः पहिलो पार्टी बताउने उल्लेख गरे ।