पोखरा ।केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता उपाधि जितेको छ । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचाल्यो । पहिलो हाफमै ३–१ ले अग्रता लिएको एम–१२ ले दोस्रो हाफमा थप एक गोल थप्दै फराकिलो जित दर्ता गर्यो । विजेता एम–१२ ले नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको रत्नचोकले भने ६१ हजार १ सय ११ रुपैयाँ चित्त बुझायो ।
एम १२ का लागि अविनास तामाङले ह्याट्रिक गरे । सरोज तितुङको नाममा एक गोल लेखियो । रत्नचोकका लागि सोनु गुरुङले एक गोल फर्काए । जुन गोल सान्त्वना बन्न पुग्यो । ४६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाईनल खेलको म्यान अफ दि म्याच अनिवास तामाङ घोषित भए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार मनोज गुरुङ घोषित भए । बेष्ट गोलकिपरबाट रोमन थापामगरले पुरस्कार थाप्दा बेष्ट डिफेण्डर योगेश गुरुङ बने। त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार सरोज तितुङले प्राप्त गरे । उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्दा अन्य विधाका खेलाडीले ३÷३हजार रुपैयाँ प्राप्त गरे ।
एकसातासम्म चलेको प्रतियोगिताको विजेता टोलीलाई पोखरा–१४ का नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्की, समाजसेवी अमृतबहादुर कार्की लगायतले ट्रफीसहित नगद प्रदान गरे । वडाध्यक्ष कार्कीले प्रथम पुरस्कार प्रायोजन गरिदिएका थिए । दोस्रो पुरस्कारको समाजसेवी अमृतबहादुर कार्की तथा होमबहादुर बसेलले प्रायोजन गरेको आयोजक जनएकता क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले बताए । क्लबका अध्यक्ष बेवबृजन खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।