मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन

पोखरा /कोरोना महामारीका कारण गतवर्ष निधन हुनुभएका वरिष्ठ सँस्कृतिकर्मी,शिक्षासेवी,समाजसेवी, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा निर्माण गरिएको मेनकाजी मिरा स्मृति कक्षको उद्घाटन गरिएकोछ।

पोखरा ९, पुरानोबसपार्कस्थित हिमाली साँस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृतिकक्षको स्वर्गीय गुरुङको प्रथम वार्षिकीको दिन पोखरा महानगरपालिका वडा नं.९ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्नुभएको हो।

 

मेनकाजी गुरुङ र मिरा गुरुङले सञ्चालन गरेको कञ्चनजङ्गा होष्टेलका पुर्व विद्यार्थीहरु हाल जापानमा रहनुभएकी लक्ष्मी गुरुङ र युके निवासी आरती गुरुङको विशेष पहलमा होष्टेलका पुर्व विद्यार्थीहरुद्धारा संकलित ६ लाख ३३ हजार ५३ रुपैयासहित हिमाली साँस्कृतिक परिवारबाट ८ लाख रुपैया लागतमा निर्मित स्मृति कक्षको उद्घाटन गरिएको हो।गतवर्ष जेठ १७ गते कोरोनाका कारण मेनकाजी गुरुङ र जेठ १ गते धर्मपत्नी मिरा गुरुङको उपचारकै क्रममा निधन भएको थियो।

 

प्रथम वार्षिक स्मृति कार्यक्रम, स्मृति कक्ष उद्घाटन एवम नवनिर्वाचित वडा नं.९ का वडाध्यक्ष लगायत जनप्रतिनिधीहरुलाई बधाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष मर्सानीले लोक सँस्कृति क्षेत्रका नक्षत्र, वडा नं.९ कै गहनको रुपमा रहेको संस्था हिमाली साँसकृतिक परिवारका अध्यक्ष गुरुङले निधनले ठुलो क्षति पुगेको बताउनुभयो। आफ्नो पारिवारिक सम्बन्ध एवम छोरीहरुको गुरु गुरुआमाको गुमाउनु पर्दाको पीडा व्यक्त गर्नुहुदै हिमाली साँस्कृतिक परिवारका लागि वडा नं.९ सधै साथसहयोग, सहकार्य गर्न तयार रहेको बताउनुभयो।

 

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वर्गीय गुरुङको निधनले मुलुकले लोक सँस्कृतिको निधी, जिउदो  संग्रहालय नै गुमाएको बताउनुभयो। उहाँले स्वर्गीय गुरुङलाई चिरकाल स्मरणका लागि शुभेच्छुक व्यक्ति एवम संघ संस्थाहरुबाट ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको र उक्त कोषको वार्षिक व्याजबाट अग्रज कलाकार सम्मान,क्रियाशील कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृतिको संरक्षण विकास गरिने बताउनुभयो। उहाँले हिमाली साँस्कृतिक परिवारको संस्थागत विकास र कलाकारहरुलाई राज्यको तर्फबाट वडादेखि संघ सरकारसम्मले विशेष प्राथमिकताको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो।

 

उक्त कार्यक्रममा स्वर्गीय दम्पत्तिको तस्बिरमा प्रमुख अतिथि, अतिथि, लगायत सहभागीहरुले दीप प्रज्वलनका साथै फूलमाला,पुष्पअर्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। यस अघि परिवार एवम आफन्तजनहरुको तर्फबाट बिहान स्व.गुरुङको प्रथम वार्षिकीको तिथिमा बौद्ध अर्घौं सदनमा पुजा र बत्ती बाल्ने कार्य सम्पन्न भएको थियो।

 

कार्यक्रममा हालै सम्पन्न स्थानिय निर्वाचनमा पोखरा महानगरपालिका वडा नं.९ को नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानी लगायत सदस्यहरुलाई हिमाली साँस्कृतिक परिवार बधाई ज्ञापन गरिएको थियो।हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव मनबहादुर गुरुङ र संचालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...