रूपन्देही । रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो । पाँचजनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनाका नौ मृतकमध्ये चारजनाको पहिचान खुलेको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको अस्पताल प्रशासनले जनाएको छ । पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढ ४ बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।