गलेश्वर, २३ जेठ : म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी किराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको फलफूलमा आँैसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो ।
फूल फुलेर चिचिला लाग्न थालेका सुन्तलाबारीमा फलेका काँक्रा, घिराँैला, गोलभेंडालगायतमा औँसा तथा घोगा लाग्न थालेका मकैमा फौजी कीरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका हुन् । प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित देखिन्छन् । किसानले लगाएको काँक्रा र पाकेका आरु, आरुपखडामा पनि औसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ ।
मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेंडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको कृषि प्राविधिकले बताएका छन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । यसैगरी गोलभेंडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको बाबियाचौरका हरिकृष्ण पौडलले बताउनुभयो ।
जिल्लामा मकैबालीमा फौजी कीराले ठूलो क्षति पु¥याएको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप बढेको हो । घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढी भएकोले बोट नै सकिन थालेको मङ्गलाका किसान टेकबहादुर विकले बताउनुभयो । उहाँका अनुसार हाल विषादीले समेत फौजी कीराको आक्रमण रोकिन सकिएको छैन ।
बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्नुपरेको बताउनुभयो ।
फौजी कीराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी किराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।
प्रायः सुख्खा मौसममा देखिने फैजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि आक्रमण बढिरहेको कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानुकासाथै मकैको घोगा, पात र गुभोमा पनि क्षति पु¥याउने कृषि प्राविधिक बताउँछन् ।
यसैगरी जिल्लामा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेका छन् ।
जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।
त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका किसान खिमबहादुर कार्कीले बताउनुभयो । यहाँका अर्का किसान बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको बताउनुभयो ।
बगरफाँट गाउँका सबै किसान केराखेतीमा संलग्न छन् । सुरुवातमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उनीहरुको भनाइ छ ।
आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गर्नुभएको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यसवर्ष केराको उत्पादन घटेको बताउनुभयो । हजारी जातको केरा खेतीबाट वार्षिक रु तीन लाख आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उहाँले बताउनुभयो ।
“झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको थापाले जानकारी दिनुभयो ।
रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका खबराका किसान शोभित शर्माले बताउनुभयो । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,” उहाँले भन्नुभयो । धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका हुन् । उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको मागसमेत गरेका छन् ।