लमजुङको क्होलासोंथर गाउँपालिकामा निर्वाचितद्धारा पोखरामा धन्यवाद ज्ञापन

पोखरा, जेठ २४ गते ।लमजुङ जिल्ला क्होलासोंथर गाउँपालिकामा हालै निर्वाचित पालिका अध्यक्ष, वडा नं.–६ र ७ का वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुले पोखरामा रहनुभएका मतदाताहरुलाई धन्यवाद व्यक्त गरेको छ । मंगलबार पोखरा–१२ स्थित पस गाउँ तमु समाजमा अयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम साथै जनप्रतिनिधिहरुद्वारा धन्यवाद कार्यक्रममा निर्वाचनमा मतदान गर्नुहुने, साथ–सहयोग गर्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्णलाई नवनिर्वाचित अध्यक्ष सूर्य प्रसाद गुरुङ, वडा नं.–६ का अध्यक्ष मनलाल गुरुङ, वडा नं.–७ का वडा अध्यक्ष लक्षुमन गुरुङले धन्यवाद व्यक्त गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय उप–महासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवनिर्वाचित सम्पूर्णलाई बधाई र सूर्य ध्वजा बाहक उम्मेदवारहरुलाई विजय गराउन भूमिका निर्वाह गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्नुभयो । वहाँले राजनिती निरन्तरता, धैर्यता र कठिन यात्रा भएको बताउनुहुँदै विगतमा कम्युनिष्टले ६० वर्ष पुगे पछी मान्छे मार्छ, घरजग्गा खोस्छ, पेन्सन पाइँदैन भन्ने आरोप लगाउनेहरुलाई नेकपा एमालेको मनमोहन अधिकारीको सरकारको पालादेखी सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै कम्युनिष्टको पहिचान दिलाएको बताउनुभयो । वहाँले धेरै संघर्ष गरेर, धेरै पटक निर्वाचनमा पराजय भोग्नु परे पनी असल विचार सिद्धान्त र निरन्तरताका साथ राजनितीमा अगाडी बढी रहेको कारण आफु मुख्यमन्त्री, संघीय मन्त्री समेत हुने अवसर पाएको र जनमुखी र विकासका अत्यन्तै महत्वपूर्ण कार्यहरु गरेको प्रस्ट पार्नुभयो ।

 

नेता गुरुङले वर्तमान गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री इमान्दार रहनुभए पनि खासै भिजन नभएको भन्ने टिप्पणी गर्नहुँदै आफ्नो कार्यकालमा शुरु गरेका राम्रा कामहरुको कटौतीमा आपत्ती समेत जनाउनु भयो ।कार्यक्रममा क्होला सोंथर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सूर्य प्रसाद गुरुङले आफु जनताको सेवक भई जनताको हितका निम्ति क्होलासोंथरको विकासका निम्ति सिमित स्रोत र साधनलाई अधिकतम जनता र विकासका पक्षमा सदुपयोग गर्ने बताउनुभयो । वहाँले क्होलासोंथर गाउँपालिकामा विजय गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै उम्मेदवार रहँदा सम्म नेकपा एमालेको सूर्य ध्वजावाहक चिह्नका झण्डा बोकेपनी अब जनताको साझा हितका निम्ति अघी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

वडा नं.–६ का वडा अध्यक्ष मनलाल गुरुङले पुन आफुलाई वडा अध्यक्षमा निर्वाचित गराउनुहुने मतदाताहरुलाई धन्यवाद दिँदै गत कार्यकालमा गरेका विकास निर्माणका कार्यलाई निरन्तरता र जनताका सेवालाई प्रभावकारी बनाउने बताउनु भयो ।वडा नं.–७ को नवनिर्वाचित वडा अध्यक्ष लक्षुमन गुरुङले निर्वाचनमा प्रस्तुत गरिएका प्रतिवद्धता पत्रलाई व्यवहारमा उतार्न आफुले प्रारम्भ गरिसकेको बताउनुहुँदै पोखरामा रहनुभएका मतदाताहरुलाई वार्षिक रुपमा पोखरा बाटै कर तिर्ने र सिफारिस पाउने सुविधा प्रदान गर्ने बताउनुभयो वहाँले सामाजिक सुरक्षा भत्ता घर–घरै पु¥याउने कामको प्रारम्भ भैसकेको बताउनुहुँदै वडा नं.–७ लाई कफी र एबोकाडो जोन बनाउने घोषणा गर्नुभयो ।

 

क्होलासोंथर गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कुमारी मुनी गुरुङले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै विगतका कार्यक्रमहरुलाई निरन्तरताको निम्ति र अधुरा रहेका विकासका योजनाहरुलाई सम्पन्न गराउन सुझाव दिनुभयो । उक्त कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, नेकपा एमालेका नेता दिपक तामाङ, पस गाउँ तमु समाजका संरक्षक गणेश बहादुर गुरुङ, गोरे गुरुङ, मन बहादुर गुरुङ लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा सहभागी विभिन्न समाज, संघ–संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित अध्यक्ष, वडा अध्यक्ष, सदस्यहरुलाई फेटा, भांग्रा, क्रमु, खादा, माला, अबिर लगायतले सम्मान गरेको थियो ।वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा क्होलासोंथर गाउँपालिकाको ४७ सिट मध्ये ४७ सिट नै नेकपा एमालेका उम्मेदवारहरु विजय हुनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...