पोखरा, असार २७ गते ।महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पोखरालाई शैक्षिक हवको रुपमा विकास गर्न गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरले सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले पोखरा महानगरले शिक्षामा लगानी गरेपनि त्यसको प्रतिफल प्राप्त गर्न नसकेको बताउदै पोखरालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न शिक्षाको गुणस्तर सुधार आवश्क रहेको बताउनुभयो । सामुदायिक विद्यालयहरुमा बस सञ्चालन गरेर सुविधा प्रदान गरेसंगै ती विद्यालयको गुणस्तरमा सुधार हुने विश्वास ब्यक्त गर्नुभयो ।उहाँले लामो मेहनत पछि पोखराका चार सामुदायिक विद्यलायहरुले बस प्राप्त गरेको बताउनुभयो ।
पोखरा महानगरले चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । शिक्षा महाशाखामा आयोजना गरिएको कार्यक्रमका बीच मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र शिक्षा महाशाखा प्रमुखले पोखरा २९ को जनप्रकाश मावि, पोखरा ३० को त्रिभुवन शान्ति मावि, पोखरा ३१ को अम्मरसिंह मावि र पोखरा ३२ को ब्रह्मरुपा माविलाई स्कुल बसका चावी हस्तान्तरण गरेका हुन् । शिक्षा महाशाखाका अधिकृत विश्राज आचार्यका अनुसार सम्बन्धित विद्यालयले प्रति विद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै दरको लगानीमा बस ल्याइएको जानकारी दिए । एक करोड एक लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका चार वटा स्कुल बस ल्याइएको हो । उक्त बसहरुमा चालक बाहेक ४० सिट क्षेमता छ ।