पोखरा, असार २८ गते । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखा तनहुँले शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित सामुदायिक विद्यालयहरू तथा वडा कार्यालय परिसरमा बृक्षरोपण गरेको छ ।यही असार २४ र २५ गते विद्यालयहरू तथा वडा नं १ कार्यालय परिसरमा आवश्यकता अनुसारका अशोका, कपुर, तेजपत्ता, पारिजात र लप्सीका ४० वटा विरुवा रोपिएको उपशाखाका सचिव ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो । धेरैै विरुवा रोपेर छाड्नुभन्दा थोरै विरुवा रोप्ने र रोपेका विरुवा संरक्षण गरी हुर्काउनेमा उपशाखाले जोड दिएको छ ।
विरुवाको तत्कालीन संरक्षणका लागि स्थानीय सामाग्रीको प्रयोग गरी बारबन्देज गरिएको तथा भविष्यमा संरक्षणका लागि सम्बन्धित विद्यालय र वडा कार्यालयले जिम्मेवारी लिने गरी कार्यक्रम बनाइएको छ । रुख रोपौं वातावरण जोगाउँ भन्ने सन्देश सहितको यस कार्यक्रमले बालबालिकामा वातावरण संरक्षण प्रति सकारात्मक भावनाको विकास गर्ने अपेक्षा गरिएको छ ।
उपशाखाका तर्फबाट वडा नं १ अन्तर्गतका अन्तराष्ट्रिय युवा वर्ष आधारभुत विद्यालय सेरावेसी, जनकल्याण आधारभुत विद्यालय सिम्ले, अमरज्योति मा.वि.तल्लीपोखरी, सरस्वती मा.वि. थप्रेक र अमरज्योति आधारभुत विद्यालय काठेपिपल गरी पाँचवटा सामुदायिक विद्यालय र वडा कार्यलय परिसरमा बृक्षरोपण गरिएको थियो ।
कार्यक्रममा उपशाखाका तर्फबाट सभापति शमशेरबहादुर गुरुङ, निवर्तमान सभापति केशमाया गुरुङ, सचिव ठाकुरप्रसाद खनाल, कोषाध्यक्ष अनिता पौडेल, उपसचिव वावुराम वाग्ले, सदस्य हरिबहादुर शाही लगायतको संलग्नता रहेको थियो ।