पोखरा,असार ३१ गते ।पाेखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिन २ दिनअघि बाँकी छँदा भाडामा लगाइएको पोखरा उपत्यका नगर विकास समितिको करिब ६३ रोपनी जग्गा भाडा सम्झौता खारेज भएको छ ।
समितिको शुक्रबार बसेको १७० औं पूर्ण बैठकले उक्त भाडा सम्झौता गैरकानुनी रुपमा भएकाले खारेज गर्ने निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका मेयर धनराज आचार्यले जानकारी दिए ।
बाँकी कानुनी प्रक्रियाका लागि अख्तियार दुरुपयोग आयोग र नेपाल प्रहरीलाई लेखिपठाउने निर्णय भएको बैठकपछिको आकस्मिक पत्रकार सम्मेलनमा उनले जानकारी दिएका हुन् ।
पोखरा उपत्यका नगर विकास समितिको ३ ठाउँको गरी करिब ६३ रोपनी जग्गा अपारदर्शी ढंगले कौडीको भाउमा भाडामा लगाइएकोबारे सतहमा आएपछि सोबारे छानविन गर्न ५ सदस्यीय समिति गठन भएको थियो ।
समितिको गत शनिबार बसेको १६९ बैठकले नापी कार्यालय कास्की प्रमुख दिनेश काफ्लेको नेतृत्वमा गठित समिलाई एकहप्ताभित्र प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको थियो ।
सोही छानविन समितिले शुक्रबार भाडा सम्झौता गैरकानुनी एवं अपारदर्शी भएको ठहर गर्दै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा सम्झौताका कागजातसमेत शंकास्पद रहेको उल्लेख गरिएको छ ।