प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना भएको एक छलफल कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो । आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकद प्रतियोगिता सफल बनाउन समग्र गण्डकी प्रदेशबासीलाई अपनत्वको सन्देशका साथै एक जुट बनाउन परिषदले आफ्नो योजनावद्ध रुपमा अघि बढ्न सहभागिहरुले सुझाव समेत दिए ।
प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले गण्डकी प्रदेशले धेरै भन्दा धेरै पदक जित्ने आन्तरिक तयारी संगै पाहुनाको रुपमा आउने सबै प्रदेशका टिमहरुलाई हरुलाई प्रशिक्षणस्थल संगै बसोवासको उचित व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिए । उनले भने–“हामी नवौंमा जुट्दै छौं । यसमा व्यवस्थापनलाई चुस्तता दिंदै आर्थिक अनियमिततालाई समेत सुन्यमा झार्ने गरी अघि बढ्नु पर्छ ।”
सो अवसरमा आफ्ना भनाई राख्दै परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले भदौको पहिलो साताबाट नै विभिन्न खेलको छनोट खेलहरु गर्ने गरी परिषदले तयारी सुरु गरेको बताए । उनले व्यवस्थापन संगै प्रशिक्षकहरुको प्रशिक्षण, खेल संघहरु संगको समन्वय, जिल्ला खेलकुद अध्यक्षहरु संग अन्तक्रिया र एक महिनाको खेलाडी बन्द प्रशिक्षणका लागि समेत परिषदले तयारी थालेको उल्लेख गरे । उनले विभिन्न समयमा भएका राष्ट्रिय प्रतियोगिताहरुमा भएका व्यवस्थापन पक्षका कमजोरीहरु औंल्याउँदै भने–“हामी यहाँ आउने खेलाडीहरुलाई गण्डकी प्रदेशको व्यवस्थापन पक्षको प्रंशसा हुने गरी काम गर्न पनि एक जुट भएको सन्देश दिन आवश्यक छ ।”
सो अवसरमा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कास्की जिल्ला खेलकुदका अध्यक्ष दिल बहादुर गुरुङ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, क्षेत्रिय खेलकुदका डिवी नेपाली, जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा महानगर खेलकुदका सदस्य सचिव सुवास खड्का लयागतले बोलेका थिए ।उक्त कार्यक्रम अनुशासन तथा प्राविधिक उपसमिति संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको थियो ।