पोखरा, साउन २७ गते ।कास्कीका पत्रकार उदयबहादुर अमात्य र लम्जुङका आश गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गर्दै आएको ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ अर्पण गरिएको छ ।स्व. पिता वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित कञ्चन पत्रकारिता पुरस्कार फोनिजको २३ औं स्थापना दिवसको अवसरमा आज (शुक्रबार) अर्पण गरिएको हो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुरस्कृतद्वय अमात्य र गुरुङलाई जनही दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पृथ्वीमान गुरुङले पत्रकारिता शक्तिशाली क्षेत्र भएको उल्लेख गरे । ‘पत्रकार राज्यको चौथो अंग हो, मुख्य अंग हो, उनले भने, ‘राज्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्छ । ओदानको तीन खुट्टा भएझै यी तीन अंग शक्ति सन्तुलनको दृष्टिकोणले महत्वपूर्ण हुन्छ । यस पछिको अर्काे महत्वपूर्ण अंगको रुपमा पत्रकारितालाई लिइन्छ । त्यसैले स्वतन्त्र पत्रकारिता गर्न आवश्यक रहन्छ ।’
उनले पत्रकारहरु राज्यको निर्णायक अंग रहेको बताउदै सचेतक भएको धारणा राखे । ‘राज्यलाई गल्ती गर्दा औला ठड्याउने पत्रकार नै हुन् । नेपालको इतिहासमा निरकुंशको विरुद्धमा उभिएर सचेतकको भूमिकामा रहेको पाइन्छ, उनले भने, ‘त्यसैले पत्रकार सचेतक पनि हुन् । पत्रकार जहिल्यै लोकतन्त्र र नागरिक राष्ट्र हितको पक्षमा हुनुपर्छ ।’
उनले नेपाल एकीकरणदेखि अहिलेसम्म राष्ट्र निर्माणमा आदिवासी जनजाति समुदाय र पत्रकारको भुमिका सम्मानयोग्य रहेको उल्लेख गरे । ‘नेपालको एकीकरणको अन्दोलनमा होस् । चाहे जहानिया राणाशासन विरुद्धको आन्दोलनमा होस् या पछिल्लो समयको आन्दोलनमा होस् । आदिवासी जनाजातिहरु नागरिकको स्वतन्त्रता र अधिकारको पक्षमा लागेको इतिहास छ, प्रदेश प्रमुख गुरुङले भने, ‘आदिवासी जनाजाति मात्रै होइन त्यही समुदायको पत्रकारहरुको पनि योगदान अतुलनीय छ । भलै शैक्षिक अवस्थाको कारण र एकल राज्यसत्तात्मक चिन्तनका कारण त्यो गौरवपूर्ण इतिहास बाहिर आउन सकेको छैन ।’
नेपाल एकीकरणको पक्षमा जनजातिहरुको भूमिका अतुलनीय रहेको बताउदै पाउनुपर्ने अधिकारबाट वञ्चित भएको बताए । उनले विमलमान गुभाजू र गुभाजू परिवारले आफ्ना स्व. पिता र माताको नाममा स्थापित कञ्चन पत्रकारिता पुरस्कारले फोनिजकर्मीहरुलाई थप्रोत्साहान र हौसला प्रदान गर्नेसमेत बताएका थिए ।
यसैगरि पुरस्कृत व्यक्तित्व उदय बहादुर अमात्यले आफुलाई फोनिज दिवसको अवसरमा पुरस्कृत गरेको भन्दै खुशी व्यक्त गरे । उनले पछिल्लो समय भाषागत पत्रकारिता लोप हुदै गएको बताउदै फोनिजले संरक्षणको लागि पहल गर्नुपर्ने धारणा राखे । ‘पछिल्लो समय मातृभाषा लोप हुदै गएको छ । त्यसको संरक्षण हुन आवश्यक छ, उनले भने, ‘नजानेको भए सिक्नुपर्छ । तर यसको उजागर र संरक्षण हुन जरुरी छ ।’
पुरस्कृत भएका आमात्य गण्डकी प्रदेशको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधानसम्पादक हुन् । भने गुरुङ कान्तिपुर दैनिकका लमजुङ संवाददाता हुन् । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिले पत्रकार द्वयलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।यसअघि उक्त पत्रकारिता पुरस्कारबाट बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापा, कास्कीका शान्ति गुरुङ र नवलपुरका केबी राना पुरस्कृत भइसकेका छन् ।