पोखरा, साउन ३० गते ।राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउनुभएको छ । उहाँ बुद्ध एयरको उडानमार्फत अपरान्ह पोखरा आउनुभएको हो । उहाँको आज पोखरामा कुनै पनि औपचारिक कार्यक्रम थिएन ।
उहाँ विमानस्थलबाट सिधै पोखराको होटल ग्राण्ड पुग्नुभएको थियो । उहाँको बसाई सोही होटलमा रहेको छ । होटलमा उहाँले समाजिक क्षेत्रका विभिन्न ब्यक्तिहरुसंग भेटघाट गर्नुभयो भने उहाँले पोखराको अन्नपुर्ण केबलकारको अवलोकन गर्नुभयो । उहाँको कार्यतालिका अनुसार मंगलबार विभिन्न तीन वटा कार्यक्रममा सहभागी हुनुहुनेछ ।
राष्ट्रपति भण्डारीले मंगलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरको दर्शन गर्नुहुनेछ । दिउँसो बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हिरक जयन्ती समापन समारोहमा सहभागी हुनुहुने छ भने विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मंगलबार नै गुरूङ समुदायको सांस्कृतिक पर्व ट्होंटेकोे अवसरमा आयोजना गरिएको कार्यक्रममा पनि राष्ट्रपति सहभागी हुनुहुने छ भने भोलिनै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।