शिक्षा विना कुनैपनि विकास सम्भव छैन : उपप्रमुख गुरुङ

पोखरा, भदौ १६ गते ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शिक्षा विना कुनैपनि विकास सम्भब नहुने बताउनुभएको छ ।श्री सोँपाल तमु समाज पोखराको ३३ औँ स्थापना(सोँपाल) दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भन्नुभयो,‘शिक्षा बिना विकास सम्भव छैन । त्यसैले पोखरा महानगरले शिक्षालाई प्राथमिकतामा राखेको छ ।’


उपप्रमुख गुरुङले पोखरा महानगरले शिक्षाका लागि मात्रै डेढ अर्ब बजेट विनियोजन विनियोजन गरेको जानकारी दिदै पोखरालाई शिक्षाको हबका रुपमा विकास गर्ने योजना सहित कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम तयार पारेर लागु गरेको र प्राविधिक शिक्षाको आवश्यकता महसुस गरेर बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको बताउनुभयो ।‘महानगरले आफनै पाठ्यक्रम तयार गरेर लागु गरेको छ भने सिभिल इन्जिनियरिङ र अटोमेकानिकल अध्ययन गराउदै आएको छ ।

पोखरालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्य अनुरुप बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको छ ।’ उहाँले तमु समुदायका ब्यक्तिहरुपनि सामाजिक र राजनीतिक रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । तमुहरु समाजिक र राजनीतिक रुपमा क्रियाशिल तथा संक्रिय नहुदाँ राज्यको सहयोग लिन नसकिएको बताउनुभयो ।‘आफना कार्यक्रम बारे चासो नदिदाँ हामीले राज्यका तर्फबाट विनियोजन भएका बजेट र कार्यक्रम बारे जानकारी पाउन सकेका छैनौ । त्यसैले सामािजक र राजनीतिक रुपमा क्रियाशिल हुनुपर्छ ।’

 

सोँपाल तमु समाजका अध्यक्ष मोतिप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा वडा नम्वर ६ का अध्यक्ष विष्णुप्रसाद बराल, पबनकाजी अधिकारी, नारायण ढकाल, होम स्टे सञ्चालनका अध्यक्ष उर्मिला गुरुङ लगायतले सोँपाल तमु समाजको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा विजयी उपप्रमुख गुरुङ सहित विभिन्न ब्यक्तिलाई सम्मान गरिएको थियो भने समाजका सदस्यका छोरीछोरीबाट उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...