पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिता अन्र्तगत सोमबार साइक्लिङ तर्फको महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।
पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोज कशंकर भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा महिलातर्फ प्रदेशबाट क्रस कन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले जानकारी दिए । यस्तै रोड रेसमा निकिता परियार, बबिता परियार, स्पर्श उदास, पवित्र परियार छनोट हुँदा डाउन हिलतर्फ जमुना थापा पर्न सफल भईन् । छनोट भएका उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिस्पर्धा गर्ने छन् । अन्य जिल्लाहरुले साइक्लिङमा सहभागिता नजनाउँदा उनीहरुले सिधै गण्डकी प्रदेशबाट छनोट भएका हुन् ।
यस्तै गण्डकी प्रदेशबाट प्रतियोगिताको क्रस कन्ट्री विधामा कास्कीका हिक्मतविक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट भए । डाउन हिलतर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छानिन सफल भए । त्यस्तै रोड रेसतर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिए ।
यसअघि सोमबार नै कास्कीबाट पुरुष तर्फको क्रस कन्ट्रीमा हिक्मत वि क, अनिल वि क, आलोकश्री खड्का र अजित बराल, डाउन हिलतर्फ अजय क्षेत्री, सुजन अधिकारी र रोड रेसमा सुमित गुरुङ र सुवास लामा छनोट भएका थिए ।प्रतियोगिता क्रस कन्ट्री, रोड रेस पोखरा– १८ मेथलाङ डाँडा र डाउन हिल पोखरा– २२ स्थित रानीबन–तितेपानी क्षेत्रमा भएको थियो ।
नवौँ राष्ट्रिय खेलकुदअसोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुदका ३६ र २ प्रदर्शनीका खेल गरी ३८ खेलमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा ४ सय सात स्वर्णपदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।