पोखरा, भदौं २४ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले ठुला ठुला व्यापारी तथा घरानीयाहरुले एकाधिकार जमाउदै आएको परिपार्टीलाई अब सहकारीले तोड्नु पर्ने बताउनु भएको छ । पोखरा १७ बिरौटामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाको तेइसौं बार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नु भयो “सहकारीकर्मीहरुले बुझ्ने कुरा के छ भने सहकारीहरुले बैंकसंग प्रतिष्प्रर्धा गर्ने होइन, आर्थिक आधार र सोच मिल्नेहरुको सहकार्य गर्ने संस्था सहकारी हो यसको मर्म र भावना अनुसार चल्नु पर्छ ।” केही व्यक्तिहरु अझै पनि दुई वा दुई भन्दा बढी सहकारीमा आबद्ध हुने र धेरै शेयर खरिद गरी सहकारीको पूंजि आफुखुसि संचालन गर्ने गरेकोले सहकारीमा समेत अब तरलता हुन सक्ने चिन्ता व्यक्त गर्नु भयो ।
मन्त्री बरालले पैसाले बस्तु उत्पादन गर्नुपर्ने बताउदै पैसाले पैसा किन्ने सिस्टमको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले आत्मनिर्भर हुनको निम्ति बस्तु उत्पादन गर्नुपर्ने बताउनु भयो । सहकारी राज्यको एउटा विकास आधार भएको बताउदै मन्त्री बरालले सहकारीहरुले नियमसंगत ढंगले कम्तिमा पनि ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न सुझाव दिनु भयो । राज्यको सानो पूंजिलाई अधिकतम प्रयोग गरी प्रथामिकताको आधारमा विकास गर्नुपर्ने मन्त्री बरालले उल्लेख गर्नू भयो ।
कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले यस सहकारीले सहकारीको सिद्धान्त अनुसार छरियर रहेको पूंजि संकलन गरी आर्थिक उपार्जन तर्फ केन्द्रित रहेको बताउनु भयो । पोखरा ७ का वडा अध्यक्ष एवं सहकारीका शेयर सदस्य राममोहन आचार्यले यस संस्थाले अन्य सहकारी भन्दा फरक ढंगले अघि बढेको बताउनु भयो ।
जिल्ला सहकारी संघका उपाध्यक्ष छविलाल लामिछाने कृषि सहकारीहरुलाई सवलीकरण गदैै उत्पादन गर्न तर्फ केन्द्रित हुनुपर्ने बताउनु भयो । कृषि पर्यटन सहकारीका अध्यक्ष डिल्लीराम बरालले सहकारीहरुमा अब सूचना केन्द्र स्थापना गर्न आवश्यक भएको बताउनु भयो ।
संस्थाका अध्यक्ष लेखनाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेल, सल्लाहकार राम प्रसाद श्रेष्ठ, सम्मानित हुने हरुबाट डा.रामजी प्रसाद पोखरेल, गुप्तेश्वर गुरुकुल वेद बिद्या आश्रमका प्राचार्य विजयराज आचार्य, उपाध्यक्ष गंगाधर पौडेल, सचिब तिर्थराज आचार्य लगायतले वोल्नु भएको थियो । उक्त अवसरमा अधिकतम् बचतकर्ताबाट परिधि आचार्य, रुक्मिनी बराल, डिल्लीराम पराजुली, पिताम्बर अधिकारी, श्यामप्रसाद भुषाल, ज्येष्ठ शेयर सदस्यबाट दुर्गा प्रसाद पौडेल, उत्कृष्ट कर्मचारीमा सरला अधिकारी ढकाल लगायतका सम्मानित हुनु भएको छ ।
९ सय १३ जना शेयर सदस्य रहेको सहकारीको चुक्ता पूंजि ११ करोड ८४ लाख ६१ हजार ६ सय रहेको छ । त्यसै गरी उक्त सहकारीले आर्थिक बर्ष २०७८÷०७९ मा ८२ करोड ४२ लाख ८६ हजार ८ सय ७७ रुपैया कर्जा लगानी गरेको छ । ९ जनालाई रोजगार दिएको उक्त सहकारीले ४६ लाख ९७ हजार १ सय ५२ रुपैया नेपाल सरकारलाई राजश्व समेत दिएको सहकारीले दाबी गरेको छ ।